प्रचण्ड पुत्री रेणु दाहालले राहत गायव पारेको भन्दै भारतीय टोली काठमाडौँमा

काठमाडौँ, २३ वैशाख ।
गोरखाका भूकम्पपीडितका लागि भारतले पठाएको राहत सामग्री एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहालको निर्देशनमा काठमाडौँमा गायव पारिएको भन्दै भारतबाट सामान खोजीको लागि टोली काठमाडौँ आइपुगेको छ । आइतबार सप्तरीको भारदहमा एमाओवादीले भारतबाट आएको राहत गोरखा नपुगेपछि राहत पठाउनेहरु खोजीका लागि काठमाडौँ आइपुगेका हुन् ।
दाँत माझ्ने मञ्जनदेखि एउटा परिवारलाई आवश्यक राहतको साम्रगी भएको २ सय ५० प्याकेट राहत भारतको केयर इन्डियाले गोरखाका लागि केयर नेपाललाई पठाएको हो । भारतको भारदहबाट पठाइएको सामग्री त्यहाँबाट ट्रकमा ल्याइएपछि नेपालमा बसमा लोड गरेर गोरखा पठाउँदा गोरखा जाने बसलाई सीधा काठमाडौँ ल्याएर बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छेउमा अनलोड गराइएको पाइएपछि टोली काठमाडौँ आइपुगेको हो । सामान खोज्न आएकामध्ये एकले हिन्दीमा भने, ‘हामीले सबै प्रक्रिया पूरा गरेर दुईसय ५० परिवारलाई १० लाख रुपैयाँको सामान पठाएका थियौँ, सप्तरीको भारदहबाट बस नियन्त्रणमा लिएर काठमाडौँमा सामान झार्ने काम भएको खबर पाएर खोज्दै आएका हौँ ।’ उनले भने, ‘त्यहाँ एमाओवादी कार्यकर्ता ज्योति झाले यो काम गरेको पाइयो र उनले एमाओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई लगेर सामान बुझाइएको बताएपछि टोली काठमाडौँ आएको हो ।
राहत फिर्ताको पहलका लागि आएका टोलीका सदस्यलाई केही आर्थिक लिएर विषय सल्टाउन प्रस्ताव आएको बताइएको छ । टोलीका एक सदस्यले भने, ‘हामीलाई आजै १० बजे बोलाएका थिए तर अहिलेसम्म छलफल भइसकेको छैन ।’ उनीहरुले बिहान १० बजे भेट्ने भने पनि दिउँसो साढे १ बजेसम्म फोनमा मात्र वार्ता भइरहेको छ । भारतबाट आएको राहत यसरी बाटोमै गायव पारिएको यो पहिलो घटना हो । एमाओवादीका दुई बलशाली नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको  गृहजिल्लाका लागि एउटा सामाजिक संस्थाले पठाएको राहत पार्टी अध्यक्षकै परिवारका सदस्यबाट गायव पारिएको घटना राम्रो होइन । यसले एमाओवादीलाई विवादमा ल्याएको छ भने वास्तविक पीडितलाई राहत नपुग्ने पनि देखिएको छ ।