भारतबाट आएको राहत सामाग्री गोदाममा भण्डारण गर्ने ३ जना प्रहरी नियन्त्रणमा
भैरहवा, वैशाख २० – भारतबाट आएको राहत सामाग्री ब्यक्तिगत गोदाममा भण्डारण गरि रहेको अवश्थामा रुपन्देही प्रहरीले भैरहवाबाट ३ जनालाई पक्राउ गरेको छ ।
भारतको बनारसमा रहेको कैलाशपुरी सेवा आश्रमले पठाएको राहत सामाग्री हिन्दु स्वयम सेवक संघका राष्ट्रिय संघका हेम शर्मा र जिल्ला सचिव गोपाल यादवले गलत नियतले भण्डारण गरेको आशंकामा स्थानियले प्रहरीलाई खबर गरे पछि प्रहरीले छापा मारेर सामाग्रीहरु बरामद गरेका हो । २ जनासंगै ट्रक चालक मनिष यादव पनि प्रहरी हिरासतमा रहेका छन ।
महाभुकम्पको त्रासदीमा रहेका नेपाली जनताका लागी भारतीय दाताहरुले पठाएको राहत सामाग्री ब्यापारीहरुले तस्करी गरी खाने बाटो बनाएकोले प्रहरीलाई खबर गरेको एक स्थानियले बताए । नेपाल भारतको सीमामा रहेको भैरहवालाई ब्यापारीहरुले मौकाको फाइदा उठाइरहेको उनको भनाई छ ।
हिन्दु स्वयम सेवक संघ मार्फत उक्त कैलाशपुरी आश्रमले नेपालीलाई पठाएको १ सय बोरामा रहेको ५० क्विन्टल चना, १ सय कार्टुन बिस्कुट, ३ क्विन्टल चियापत्ति, ५० कार्टुन फ्रुटी, १० झोला दुध, १ सय थान कम्बल र १५ थान टेन्ट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले बताए । उक्त सामाग्रीहरु भारतीय नम्बर प्लेटको ट्रक युपी ६३ जे ९१०० मा रहेको र गोदाममा खन्याउदै गर्दा फेला परेको ढकालले बताए । यस बिषयमा थप अनुसन्धान गरि कार्यवाही प्रक्रिया अगाडी बढाइने उनले जनाए ।
राहत सामाग्री मध्ये १ सय बोरा चना ब्यापारी हेम शर्माले आफ्नो गोदामभित्रै राखि सकेका थिए भने बाकी सामाग्री ट्रकबाट झारि रहेको अवश्थामा प्रहरीले फेला पारेको स्थानियहरुले बताए । सोही गोदाममा शनिबार समेत भारतीय नम्बर प्लेटको युपी ५३ एच ७२७७ बाट १ ट्रक चिउरा ल्याएको र चिउरा समेत गोदाममै खन्याएको स्थानियहरुले दावी गरे । शर्मा र यादवले मिलि राहत सामाग्रीको नाममा भन्सार लगायत अन्य सुविधा लिई वैध रुपमै तस्करी गरि रहेको स्थानियहरुको अनुमान रहेको छ ।
राहत सामाग्रीमा समेत तस्करी गरेको भन्दै स्थानियहरु आक्रोशित समेत भएका थिए । उनिहरुले शर्मा र उनका छोरालाई कुटपिट गर्न खोजे पनि प्रहरी सक्रियताको कारण अप्रिय घटना हुन पाएन ।
जिल्ला प्रहरी प्रमुख एसपी ढकालले उक्त ट्रकको राहत सामाग्री लैजाने रुट काठमाडौं रहे पनि सिनपा ४ उद्योगपुरीमा सामान झारेकोले ट्रक र ३ जनालाई नियन्त्रणमा लिएको बताए । राहत सामाग्री नेपालमा छिरिसकेपछि त्याहा रहेको समन्वय डेस्क सित समन्वय गरि आफुले बितरण गर्ने स्थानको नाम तोकेपछि बिचमा सामाग्री झार्न नपाउने ढकालले बताए । झार्नै परे सम्बन्धित जिल्लामा रहेको दैवि प्रकोप उद्धार समितिमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको उनले बताए ।
यता भारतीय ट्रक चालक काठमाडौं जान नमाने पछि आफहरुले समान अनलोड गरी नेपाली ट्रकमा पठाउने व्यवस्था गर्ने मनसायले राहत सामाग्री गोदाममा राखेको सचिव गोपाल यादवले दावी गरे । हिन्दु स्वयम सेवक संघले यस अघि पनि विभिन्न राहत सामाग्री पठाउँदै आएको बताउँदै उनले स्थानिय रुपमा रहेको प्रशासन वा दैवी प्रकोप उद्धार समितिमा जानकारी गराउनु पर्ने कुरा आफुलाई थाहा नभएको बताए ।