६ तल्ला भवन पुरै ध्वस्त हुँदा पनि सकुशल बाँच्न सफल भाग्यमानी परिवार

बैशाख १८ , काठमाडौँ ।
मर्ने कसैलाई रहर हुदैन तर नमरेको प्रहर हुदैन,भागेर जाउँ कुन ठाँउ जाउँ मान्छे नमर्ने शहर हुदैन ।

sitapailaगीतकार कृष्णहरि बरालको यो गीत झै गत शनिबारको महाभुकम्प पनि त्यस्तै थियो,भूकम्पले झन्डै ६ हजार भन्दा बढी मानिसको ज्यान लिएर गएको छ । तर कतिपय भने भूकम्पमा परेर पनि बाँच्न सफल भएका छन् । त्यस्ता केही भाग्यमानी मध्येका एक हुन काठमाडौ सीतापाईलाका गोपाल गौतमका परिवार । श्रीमान, श्रीमती एक छोरा र साढे ३ बर्षकी छोरीसहित उनीहरु ६ तल्ला भवन पुरै ध्वस्त हुँदा पनि सकुशल बाँच्न सफल भएका छन् ।
६ तल्लाको घरमा ९ जनाले ज्यान गुमाएका थिए भने एउटै घरमा डेरा गरि बस्ने घरभेटी सहित १४ घर परिवार विस्थापीत भएका थिए । स्थानीय हीमलाल धितालको घरमा सिन्धुली जिल्ला आम्बोटे गाविस वडा नं ६ स्थायी घर भइ ६ बर्ष अघिदेखि डेरा गरेर बस्ने गौतम परिवारले बल्लतल्ल ज्यान जोगाएका छन् । भत्केको घरको पर्खाल फोरेर स-परिवारको ज्यान जोगाएका गोपाल गौतमसँग गरिएको कुराकानी:
sitapaila1म सुतिरहेको थिए, छोरी मसंगै खेल्दै थिइन् , श्रीमतीले टिभी खोल्न रिमोट हातमा मात्रै लिएकी थिइन् । एक्कासी घरहरु हल्लिन थाले, म जुरुक्क उठेर भूकम्प आयो भन्दै कराएर म संगै खेलिरहेकी ३ बर्षकी छोरीलाई टपक्क टिपेर कतै निस्कन खोजे । तर भूकम्पको झड्काहरु निकै ठूला भएकाले मा त्यहाँबाट कतै जान सक्ने अबस्था थिएन । त्यसैले मैले जाने बुझे अनुसार घरको बिम र ढोकाको चौकोश मुनी छोरी, श्रीमती र आफु एकसाथ बसी राख्यौ ।
तर केही सेकेन्डमै ठुलो आवाजका साथ घर गर्ल्यामगुर्लम ढल्यो । त्यसपछि हामी च्याप्यौ । त्यसै क्रममा मेरो टाउको पनि फुट्यो, श्रीमतीको खुट्टामा चोट लाग्यो । तर छोरीलाई मैले च्यापि राखेको हुनाले छोरीलाई केही हुन् पाएन । ९ बर्षको छोरो भने त्यतिखेर हाम्रो साथमा थिएन । ऊ कहिँ कतै च्यापियो कि भन्ने  शंका लाग्यो । तर हामी मरेनौ । त्यसपछि धेरै बेरसम्म धुवा र धुलोक अकारण हामी त्यहि बिच्छिप्त भै राख्यौ । केहीबेर पछि धुवा र धुलो हट्दै जाने क्रममा करिब १० मिटर पर जति एउटा उज्यालो प्वाल देखियो । त्यो प्वाल देख्दा हामीले कराएको कसैले सुन्छन भन्ने लाग्यो ।  र  अब बन्चिएला भन्ने आश लाग्यो ।
एकचोटी आफैले कोसिस गर्ने आँट पनि आयो । र हामीलाई बाटोमा छेकिएको स्ल्याब हटाई त्यस प्वालको नजिकै पुगी आफु संग केही नभएको हुनाले हातले नै एक टुक्रा इँटा भाँची त्यसैले इँटाको सहायताले अरु इँटा र सिमेन्टलाई भाँची देखिएको प्वाललाई ठुलो बनाई आफु निस्किन मिल्ने बनाए । अनि म निस्के । त्यसपछि छोरी र श्रीमतीलाई निकाले । करिब आधा घण्टाको संघर्षपछि मैले नया जीवन पाएको आभाष गरे  ।
हामी निस्केपछि शसस्त्र प्रहरीका पुर्व एआईजी ऋषपदेव भट्टराई र छिमेकी पुरण श्रेष्ठले देखे ।  त्यसपछि उहाहरुकोस सहयोगमा हामी तल झर्यौ ।  तल झर्नेक्रममा मेरो छोरा परबाट आइरहेको देंखे । छोरालाई देखेपछि मलाई थप आनन्द लाग्यो किनकि मलाई स-परिवार बच्यौ भन्ने लाग्यो । म आफ्नो टाउकोबाट बगेको रगत चुहाउदै हामी संगै पुरिएका त्यस घरका सदस्यहरुको खोजीमा लाग्यौ ।  त्यसक्रममा घरबेटीका सबै परिवार जिवितै र एक जनासंगै बस्ने बहिनिलाई पनि निकाल्यौ ।  त्यसपछि म अस्पताल गए ।
अहिले म छिमेकी केशबराज पौडेलको क्याम्पमा बसिरहेका छौ । तर तीन बर्षे छोरी क्याम्पमा बस्दा बस्दै बेलाबेलामा ममी घर जाउँ ….घर जाउँ….भनेर बेलाबेलामा रुँदा भने मन नै भक्कानीएर आउदछ । अवोध नानीलाई म कसरी सम्झाउ कि हाम्रो बस्ने घर माटोमा मिलीसकेको छ भनेर ।