भूकम्पपीडितलार्इ अस्थायी घर बनाइदिँदै गगन थापा

फोटो :नुवाकोटको कुमरी गाविस वडा ३ मा भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माण गर्दै युवा नेता गगन थापा। तस्बीरु: गगन थापाको फेसबुकबाट
काठमाडौं : संविधानसभाका सदस्‍य एवं काँग्रेसका युवा नेता गगन थापाले भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माण अभियान थालेका छन्। राष्ट्रिय विपत्तिको घडीमा सरकार एक्लैले मात्र धेरै काम गर्न नसक्ने भन्दै अस्थायी घर निर्माण कार्यका लागि सभासद् गगन थापाले आफ्नो व्‍यक्तिगत खर्च र पार्टी  र स्थानीयको सहयोगमा स्वयंसेवी युवा सहित घर निर्माण अभियानमा जुटेको बताए। 
सभासद् थापाले शुक्रबारदेखि नुवाकोटको कुमरी गाविस वडा ३ मा ४७ वटा घर निर्माणबाट अभियान सुरु गरेको बताए। उनका अनुसार थप २० घरका लागि जस्ता (टिन) र बाँस उपलब्ध गराएका छन्। जस्तापाता र बाँस एवम् घर बनाउन चाहिने आवश्‍यक सामग्री देशका विभिन्‍न ठाँउबाट पार्टीका युवाले उपलब्ध गराएको थापाले बताए। नुवाकोटमा ८० स्वयमसेवी युवाहरुले भूकम्‍पपीडितका लागि अस्थायी घर निर्माणमा जुटेका छन्। 
 
उनले भने, ' मेरो व्‍यक्तिगत र विभिन्‍न जिल्‍लाका नेताको खर्च सहयोगमा भूकम्‍प प्रभावितका लागि घर निर्माण अभियान सुरु गरेका छौ। यसमा स्थानीय र स्वयमसेवीहरुले आफ्‍नो श्रमदान गरेर सक्‍दो सहयोग गर्नु भएको छ।यसैगरी क्रमश धादिङ, काभ्रे, सिन्धुपाल्‍चोक र दोलखा लगायतका भूकम्‍प प्रभावित जिल्‍लामा हामी अभियान लिएर जाँन्छौ।'   
उनले  पार्टीको यो स्वयंसेवी अभियान भूकम्प प्रभावित जिल्लाका लागि अन्य जिल्लाबाट स्वयंसेवी रुपमा एउटा गाँउ निर्माण गर्ने अभियान भएकाले पार्टीका सबैलाई सहयोगका लागि आह्वान गरे।