२५ वर्षसम्म छुट्टिएर बसेका एक दम्पतीलाई भूकम्पले पुनर्मिलन गरायो,
विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बस्नुभएका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको घर भत्किएपछि खुला आकाशमुनि आइपुग्नुभयो। | |
बुङ्कोट ९गोरखा०, १९ वैशाख - विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बस्नुभएका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको घर भत्किएपछि खुला आकाशमुनि आइपुग्नुभयो ।
श्रीमतीको पनि उस्तै हालत गरायो गत शनिबारको प्राकृतिक विपत्तिले । आफ्नै कारणले छुट्टाछुट्टै बस्दै आउनुभएका थापा दम्पतीलाई भूकम्पले खुला आकाशमुनि नै भए पनि एकैठाउँमा बस्ने वातावरण मिलाइदिएको छ । अढाइ दशकदेखि छुट्टिएका बूढाबूढी अहिले भत्किएको घर अगाडि बसेर दुःख सुखको बात गर्न थालेका छन् ।
भूकम्पले घरबास खोसिदिएपछि भग्नावशेष अगाडि २५ वर्षपछि सँगै भेटिनुभएका राना मगर दम्पतीले एकै स्वरमा भन्नुभयो, “विपत्तिले धेरैको ज्यान लगे पनि हाम्रो भने मिलन गराइदिएको छ । दुःखले खुसी ल्याए पनि घर छैन, खानेबस्ने चिन्तामा छौँ ।” भूकम्पको केन्द्रबिन्दुका रुपमा रहेको गोरखा जिल्लाका अधिकांश घर, गोेठ भत्किएका छन् । बस्नेखाने ठाउँ छैन । अन्नपात, धन सम्पत्ति भत्किएको घरको भग्नावशेषमा पुरिएको छ । मर्ने त मरिगए बाँच्नेहरुका लागि श्वास धान्न यतिखेर मुस्किल परेको छ ।
बुङ्कोटका ५०० घरमध्ये एकाध घरमात्रै बचेका छन् । बस्नका लागि पाल छैन । दिनभरि घाम लाग्दा रुखमुनि बस्न सकिन्छ तर राति पानी पर्दा बासको ठेगान छैन बुङ्कोटवासीको । सरकारी निकायले राहत सामग्रीका नाममा चारोमात्रै छरेको उनीहरुको आरोप छ ।
पहुँच भएकाहरुले सहज रुपमा राहत सामग्री पाए पनि निमुखाहरुले केही पाएका छैनन् । गाउँका अधिकांश युवा विदेश गएका छन् । भत्केका घर र तिनको संरचना पन्छाउने र पुनःनिर्माण गर्ने जनशक्तिको अभाव छ । राहतस्वरुप प्राप्त पाल दर्के पानी झेल्न नसक्ने खालका छन् भने एउटा वडालाई तीन वटा पाल दिइएको जानकारी दिँदै स्थानीय मधुकरराज वन्त मागअनुसारको पाल नआएका कारण वितरणमा समस्या भएको बताउनुहुन्छ ।
राहतको नाममा विभिन्न सङ्घसंस्थाले केही चाउचाउ र बिस्कुट ल्याएर तमासा गरिरहेको आरोप स्थानीयवासीको छ । “चाउचाउ र बिस्कुटले पेट भरिँदैन, पहिले बस्नका लागि त्रिपालको व्यवस्था गरियोस्, त्यसपछि खाद्यान्नको व्यवस्था होस् । राहतको नाममा प्रचार गराउनेहरु बुङ्कोट नआए हुन्छ ।” स्थानीय शुक्र श्रेष्ठले आक्रोश पोख्दै भन्नुभयो । पीडितले पैसा तिरेर पनि २० किलोभन्दा बढी चामल पाएका छैनन् ।
पिउने पानीको समस्या छ, पोल ढलेका र प्रसारण लाइनमा समस्या आएकाले मोबाइल चार्ज गर्न नसक्दा उद्धारका लागि आफन्तलाई बोलाउन नपाएको गुनासो गर्नुुहुन्छ अर्का पीडित लीला खनाल । गाउँघरमा विकासको लहर फैलिइसकेको थियो भूकम्पले त्यसलाई २०वर्ष पछाडि धकेलिदिएको छ । पुनःनिर्माण गर्न कम्तीमा पनि १० वर्ष बढी लाग्ने स्थानीयवासीको भनाइ छ ।
राहत सामग्री लिएर जानेहरु गाउँमा कुटिने समस्या बढेको छ भने मरेका चौपायाका कारण गाउँमा दुर्गन्ध फैलिएको छ । घर भत्किए पनि शौचालय भने बाँकी रहेकाले सरसफाइमा भने खासै समस्या छैन बुङ्कोटमा ।प्रहरी प्रशासनको भवन पनि भूकम्पले भत्काइदिएको छ । प्रहरीको भवन नहुँदा सरकारले प्रदान गरेको राहत सामग्री वितरणमा थप समस्या भएको छ ।
बुङ्कोट प्रहरी चौकीका प्रमुख होमनाथ अधिकारी स्थानीय जनतासँगै समस्यामा परेको गुनासो गर्नुहुन्छ । सरकारी निकायका रुपमा गाउँमा उपस्थित प्रहरी चौकी भत्किएपछि प्रहरीको नै उद्धार कसले गरिदिने हो प्रश्न खडा भएको छ । काठमाडौँमा महामारी फैलिन्छ भन्दै गाउँ पुगेकालाई स्थानीयले ‘पर्यटक गाउँ आए’ भन्दै व्यङ्ग्यसमेत गर्ने गरेका छन् ।
सदरमुकामबाट १० किलोमिटरको दूरीमा मात्रै रहेको बुङ्कोटमा दलित तथा अशिक्षितलाई भने राहत तथा उद्धारमा भेदभाव गरिएको साने नेपाली गुनासो गर्नुहुन्छ । दलित भएकै कारण आफूले राहत सामग्री नपाएको उहाँ बताउनुहुन्छ । राहत सामग्रीका लागि दिनभरि प्रहरी चौकीमा धाउँदा पनि राहत नपाएको बताउँदै नेत्रमाया थापा मगरले भन्नुभयो, “घरमा बूढाबूढीमात्रै छन् ।
श्रीमान् विदेशमा हुनुहुन्छ । विपद् सबैलाई परेको छ, तर महिला र कोही पनि घरमा नहुनेहरुका लागि भने समस्या परेको छ ।” जिल्लाको नामजुङ, घैरुङ, ताप्ले, आश्राङ, बोर्लाङ, ताप्लेका ९० प्रतिशत घर भत्किएका छन् । बारपाकलाई केन्द्रबिन्दु बनाएको भूकम्पका कारण महामारी फैलने जोखिम पनि बढेको छ । मरेका चौपाया जथाभावी फालिएका कारण गाउँ दुर्गन्धित भएको छ ।
मरेका चौपायाको व्यवस्थापन समस्या बनेकै छ त्योभन्दा बढी बाँचेकालाई बचाउन मुस्किल परेको स्थानीयको भनाइ छ । बूढीगण्डकीमा मरेका पशु चौपाया फालिएका कारण उक्त नदीको पानी पिउन अयोेग्य भएको छ ।
भूकम्पपछि कतिपय पुराना पानीका मूल सुकेका छन् भने कतै नयाँ मूल फुटेका छन् । भग्नावशेष उत्खनन गर्न र नयाँ घर बनाउनका लागि पनि श्रमिक नपाइँदा थप समस्या भएको तथा गाउँमा सामाजिक भावना हराएको छ । खुला आकाशमुनि बसिरहेकाको एउटै माग छ– बस्नका लागि पाल र खानका लागि चामल ।
|