यस वर्षको मनसुन खतरापूर्ण हुनसक्ने मौसमविदको चेतावनी

भक्तपुर, जेठ १२ – मौसमविदले अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन आग्रह गरेका छन् । मंगलबार रफत सञ्चार क्लब भक्तपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि नागरिकसम्मले अब निकै सहज हुनु पर्ने बताउनुभयो ।  अबको एक हप्तापछि नेपालमा मनसुन सुरु हुने बताउँदै उहाँले भूकम्पले पहाडका धेरै स्थानहरुको जमिन धुजाधुजा पारेकाले  पहिरो जान सक्ने भएकाले निकै सजग अपनाउनु पर्ने बताउनु भएको हो । शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनको मुनीको पानी तथा वर्षातको पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताउनुभयो ।  नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै उहाँले सरकार अहिलेदेखि नै सजक भएर जोखिम न्यूनिकरणका लागि पहल सुरु गर्नुपर्ने उहाँले जोड दिनुभयो । शर्माले भन्नुभयो ‘अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जानथालेको छ, वर्षातमा थप जोखिम बढेको छ, जोखिम न्यूनिकरण गर्न विभाग एक्लैले मात्र केही गर्न सक्दैन, पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजक रहनुपर्छ ।’  मौसमविद एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा. मदन सिग्देल र मौसमविद सुदिप कायस्थले अहिले पूर्व मनसुन सुरु भैसकेकाले मौसम प्रतिकुल बन्न थालिसकेको बताउँदै आमनागरिक सजक हुनुपर्नेमा जोड दिनुभयो । भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ र गोरखा उच्च जोखिममा रहेकाले सजगता अपनाउनु पर्ने मौसमविदले बताएका छन् ।
श्रोत उज्यालो अनलाईन