श्रीमती र छोरा सहित १७ परिवार सदस्य गुमाएका इन्जिनियरको पिडा

मैले अढाई वर्षको कान्छो छोरा (आरजन) र पत्नी (एलिस, ३१ वर्ष) यो भूकम्पमा गुमाएँ । चार जनाको परिवार थियो । अब हामी दुई जना मात्रै बाँकी छौं । भूकम्पमा मेरो छोरा र पत्नीसहित १७ जना आफन्तको एकैपटक एकैठाउँमा ज्यान गयो ।
अव यो परिवार कहिल्यै एकसाथ हुदैन 
एकै पटक १७ जना गुमाउँदाको पीडा कसरी भनूँ म ? कुनै शब्द नै बनेको छैन होला यस्तो पीडा सुनाउने । भूकम्प गएको बेला म नुवाकोट मै थिए । जिविस नुवाकोटमा म इञ्जिनियर छु । म त्यतै बस्थे । दुई छोरा र पत्नी काठमाण्डुको ढुंगेधारस्थित घरमा बस्थे । शनिबार विद्यालय बिदा थियो । मेरो बहिनीको शोभाभगवतीस्थित घरमा श्रीमद्भागवत महापुराणको आयोजना गरिएको थियो । शनिबार पुराणको पहिलो दिन थियो । आफन्तहरु सबै बहिनीको घरमा पुराण सुन्न भेला भएका रहेछन् । भूकम्प गएपछि म नुवाकोट मै उद्धारमा खटिए ।


पत्नीलाई फोन गर्दा सम्पर्क भएन । दिउँसो ३ बजेतिर पुराण सुन्न गएकाहरु परेको खबर पाएँ । बहिनीको घर तीन तले थियो । तल्लो तलामा पुराण लगाइएको थियो । भूकम्पमा मेरो बहिनी ज्वाईं, भाइ, बुहारी, बहिनीको सासु, सासुका बाआमालगायत १७ जना मेरा आफन्त परे । भूकम्पको पाँच दिनपछि चार जनाको शव निकालियो । मेरो पत्नी र छोराको चाहिँ भोलिपल्ट नै निकालियो । आफ्नै अगाडि छोरा र पत्नीको शव जलेको हेर्नुपर्यो ।

चार जनाको हाँसी खुसी परिवार थियो । गएको वैशाख ४ गते विवाहको १२ औं वर्ष दामनमा गएर मनाएका थियौैं । अहिले अब जेठो छोरा र म मात्रै छौं । यस्तो लाग्छ मेरो परिवार आधा भत्केको घर जस्तो, एउटा पखेँटा झरेको चराजस्तो, ग्रहण लागेको चन्द्रमा जस्तो भएको छ ।  भाइको पत्नी पनि भूकम्पमा परिन । भाइको पनि एउटा छोरा (विज्ञान) छ, अढाई वर्षको । ऊ पनि आमाबिनाको भयो । भतिज र जीवित छोराको अनुहार हेर्दा मन भक्कानिन्छ । आफूले सबैभन्दा माया गरेका आफन्तको पीडाले आफ्नो पीडा बिर्साउँदो रहेछ । मलाई त्यही भएको छ अहिले, छोरा भतिजको मातृ वियोगले मलाई धेरै पीडा दिइरहेको छ ।pida

कहिलेकाहीं भगवान हुन्छन् जस्तो लाग्थ्यो । कहिले हुँदैनन् जस्तो लाग्थ्यो । पुराणमा गएका मेरा आफन्तहरुलाई यदि भगवान हुन्थे भने किन जोगाएनन् भगवानले ? भगवान हुन्छन् नै भने पनि अढाई वर्षको निर्दोश अवोध बालकले भगवानको के बिगार गरिदिएको थियो ? उसले भर्खरै त संसार देख्दै थियो, के पाप गरेको थियो होला र उसलाई भगवानले त्यत्रो सजाय दिए ? यसकारण मलाई अहिले भगवान पनि हुन्छन् जस्तो लाग्दैन । भगवान मिथ्या जस्तो लाग्छ । तै पनि सरकार यसलाई दैवीप्रकोप भन्छ । यो प्राकृतिक घटना हो । तर यति ठूलो जनधनको क्षति प्राकृतिक मात्रै होइन मानवीय पनि हो ।

हाम्रो देश भूकम्पको उच्च जोखिममा छ भन्थे । सरकारी सूचना पनि त्यस्तै हुन्थे । भूकम्प आउँदा अपनाउनु पर्ने सावधानी पनि सिकाइन्थ्यो । तर यत्रो भूकम्प जाँदा पीडितलाई बाढ्ने त्रिपाल पनि रैनछ । उद्धारको कुनै सामाग्री पनि सरकारले राखेको रैनछ । ९० सालको भूकम्पमा जसरी उद्धार भयो ८२ वर्ष पछिको भूकम्पमा पनि उद्धारको शैली उस्तै छ । खन्ती, गैँची, कोदालोको भरमा उद्धार हुँदैछ । यस्तो विपतमा उद्धार, राहतको तयारी सरकारको शुन्य रहेछ । आखिर यो सरकार चालउनेहरु के चाहिँ गर्दारहेछन् ? अनौठो लाग्छ । यसकारण ठूलो जनधनको क्षतिलाई न्यूनिकरण गर्न सकिन्थ्यो । देश चालउनेहरुले अलिकति सिस्टम बसालिदिएको भए क्षति कम हुन्थो । मेरो जस्तो पीडामा पर्नेहरु कम हुने थिए ।

मानिसहरु घर बनाउँदा नगरपालिकाको आँखा छलेर तला थप्छन् । अनुगमनमा आउने कर्मचारीले पनि पास गरिदिन्छन् । जोखिम थाह पाउँदा पाउँदै हामी हेलचेक्र्याइ गर्छौं । गल्ति एउटाले गरेको हुन्छ, परिणाम अरुले भोग्नु पर्दोरहेछ । अहिले मनमा अनेक कुरा खेल्छन् । मूलुकले विकास गर्दैछ भन्ने पनि छन् । काठमाण्डुमा खेत भएका ठाउँमा अहिले अग्ला अग्ला घर छन् । घर बन्नु विकास हैन रहेछ । गाउँमा परम्परागत ढंगबाट घर बनाइन्छ । सस्तो मूल्यमा बलियो घर बनाउने प्रविधि अनिवार्य लागु गर्नुपर्ने रहेछ ।

प्रस्तुतिः ध्रुब रिजाल  - Kathmandu Today