भूकम्पको डरले घर छाड्दा चोरी
फोटो :फाइल फोटो
खोटाङ : भूकम्पको डरले पाखामा बसेका दुर्इजनाको पसलमा चोरी भएको छ ।
भूकम्पको डरले घर छाडेर पाखामा बसेको मौकामा सदरमुकाम दिक्तेलस्थित अम्बागाछिका टङ्कप्रसाद आचार्यको कपडा पसल र बैंकचोकका प्रेमकुमार बजिमयको किराना पसल एकैरात चोरी भएको हो ।
आचार्यको कपडा पसलको ढोकाको ताला फोरेर पसलको नगद तीन हजारसहित कपडा, जुत्ता÷चप्पलसहित ७४ हजार ४ सय ५० बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सोही राति बजिमयको खुद्रा पसलको पनि ढोकाको ताला फोडेर बाकसमा रहेको पाँच हजार नगदसहित खुद्रा सामान चोरी भएको प्रहरीले बताएको छ ।
दुवै पसल चोरी गर्ने समूह एउटै रहेको प्रहरीले जनाएको छ । भूकम्पको त्रासले बजारवासी घर, पसल बन्द गरेर सुत्न खुला चौरमा गएको बेला चोरले मौका छोपेको हो । रासस