भूकम्प पीडितलाई १० हजार घर बनाइदिने बिनोद चौधरीको घोषणा
२३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पले घरबारबीहिन भएका पीडितलाई पुनर्वासका लागि चौधरी ग्रुपले दश हजार अस्थायी घरहरु निर्माण गरिदिने भएको छ ।
चौधरी ग्रुपले एक हजार घर आफ्नै खर्चमा र बाँकी ९ हजार घर दाताहरुसँग सहयोग जुटाएर निर्माण गरिदिने भएको हो । एक हजार घर निर्माणका लागि सात करोड रुपैयाँ खर्च हुने ग्रुपका अध्यक्ष बिनोद चौधरीले जानकारी दिए ।
‘बाँकी ९ हजार घर निर्माणका लागि स्वदेशी तथा विदेशी संघसंस्था, दातृ निकाय र निजी क्षेत्रसँग छलफल भइरहेको छ’ अध्यक्ष चौधरीले भने- ‘यस विषयमा सबै सकरात्मक हुनुुहुन्छ, उहाँहरुसँग साझेदारी गरेर यी घरहरु निर्माण गर्छौं ।’
साझेदारीमा निर्माण गरिने ९ हजार घरका लागि चौधरी ग्रुपले आफ्नो तर्फबाट १० करोड रुपैयाँ खर्च गर्ने भएको छ । यी घरहरू पनि तत्कालै निर्माण सुरू गरी पीडितलार्इ हस्तान्तरण गरिने बताइएको छ ।
प्राकृतिक प्रकोपबाट घरबास गुमाउनेहरुलाई अन्तर्राष्ट्रिय स्तरमा कार्यान्वयन गरिएको शैलीमा आधारित रहेर घरहरु निर्माण गरिने अध्यक्ष चौधरीले बताए । उनका अनुसार स्थानिय स्तरमा पाइने बाास, निगालो लगायतको सामाग्री प्रयोग गरेर घरहरु निर्माण गरिने छ ।
यसैगरी भूकम्प प्रभावित क्षेत्रमा एक सय सामुदायिक प्राथमिक विद्यालय पुनर्निर्माण गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । विद्यालय पुनर्निर्माणमा ग्रुपले ५ करोड रुपैयाँ खर्चिनेे छ ।
सरकारी तथ्यांकअनुसार भूकम्प प्रभावित क्षेत्रमा २ लाख ५ हजार ५२ निजी घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन भने १ लाख ८६ हजार २ सय ८५ घर आंशिक रुपमा क्षतिग्रस्त छन् ।
त्यसैगरी, ५ सय ७५ विद्यालय भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त छन भने ९ सय ६९ विद्यालयहरु आंशिक रुपमा क्षतिग्रस्त छन् । सरकारले वैशाखभरी पठन पाठन बन्द गरेपनि तत्काल विद्यार्थी विद्यालयमा गएर अध्ययन गर्न पाउने सम्भावना निकै न्यून रहेको छ ।
परियोजना निर्माणका लागि प्राइस वाटर हाउस कुपर्स (पीडब्लूसी) इन्डिया फाउन्डेसन र सोसल इन्भाइरोमेन्ट एन्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स) इन्डियासँग साझेदारी गर्ने भएको छ ।
पीडब्लूसीले आफ्नो संयन्त्रमार्फत परियोजनाको अनुगमन, मूल्यांकनका साथै प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने छ । सिड्सले प्रोजेक्ट डिजाइन र कार्यान्वयनमा सहकार्य गर्नेछ । सिड्ससँग प्राकृतिक प्रकोपपछि आवास व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।
