एकै घरमा गयो २८ जनाको ज्यान
काठमाडौं : शोभाभगवतीनजिकै समन्त शाक्यको ३० वर्ष पुरानो पाँचतले माटाको घर सग्लै उभिएको छ। त्यससँगै २३ वर्षअघि बनेको ६ तले पक्की घर हेर्दाहेर्दै ढलेर धुलोपिठो भयो। माटाको घरमा रहेका चारजना घरधनी सकुशल रहे तर पक्की घरमा पसल चलाउने र भाडामा बस्ने २८ जना क्षणभरमै सदाका लागि बिदा भए।
भुइँतलादेखि माथिका दुई तलामा जिमखाना, हार्डवेयर, किराना पसल, पार्टी भेन्यु, कपडा पसल र होटेल थिए भने माथिका तीन तलामा मानिस भाडामा बसेका थिए। समन्तका अनुसार महाभूकम्प आउँदा घरमा करिब ५० जना मानिस थिए।
वैशाख १२ गते महाभूकम्पले शोभाभगवती पुलको पश्चिमदक्षिणमा रहेको ६ तले घर ध्वस्त भएको हो। पुलछेवैमा रहेका श्याम बिष्टले भुइँचालो आएपछि समन्तका जोडिएका तीनमध्ये ६ तले घर ध्वस्त भएको बताए।
'एकछिन त अक्क न बक्क भयौं। भुइँचालो गएको थाहा पाउनेबित्तिकै हेर्दा सग्लो देखेको घर एकैछिनमा लचक्क भएको देखें। अर्कोपटक तुरुन्तै आँखा पुग्दा घर गल्र्यामगुर्लुम लडेर धुलोपिठो भयो', उनले सोमबार अन्नपूर्णसँग भने, '६ तले घर क्षणभरमै थुप्रोजस्तो हुँदा के गर्ने के नगर्ने, होसै भएन।'
प्रत्यक्षदर्शी रामकृष्ण कार्कीले चौथो तलामा रहेका एक युवक र एक युवती भने घरसँगै भुइँमा पछारिए पनि केहीबेरमै हिँडेर अस्पताल गएको बताए।
'यस्तो अचम्म पनि हुँदोरहेछ, कोही त्यसरी पनि बाँच्ने अनि कोही भित्र जीवितै छन् भनेर थाहा पाउँदा पनि बचाउन नसकिने', उनले भने, 'सँगै जोडिएको माटोको घर चिरा मात्रै पर्ने, पक्की घर हेर्दाहेर्दै लडेर मानिस मर्ने। भुइँचालोको भर हुन्न भनेको हो रहेछ।'
उक्त घरमा परी एकै परिवारका उषा लामा, राज लामा, सुजन लामा र सिवानी लामाको मृत्यु भएको छ। त्यस्तै नवलपरासी गैंडाकोटका सुमन घले, चितवन चैनपुरकी मनधरा गुरुङ, चितवनकी रीना थापा, नुवाकोट झिलिङकी मनिता पौडेल, उनका पाँच वर्षीय छोरा मनदीप, काभ्रे पाँचखालका बुद्ध श्रेष्ठ र विक्की श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी बिट शोभाभगवतीका हबल्दार जितबहादुर थापामगरका अनुसार धोबीचौरकी रन्जु लामा, उनकै कोठामा पाहुना आएकी बल्खुकी पिन्की शाही, निशा शाही र उनकी दिदी देविसा शाही, काभ्रे कात्तिकेदेउरालीका सुमन पन्त, दोलखा गुर्कोटका रोजन प्रधान, रौतहट सन्तपुरकी इन्दु गिरी र उनकी चार महिनाकी छोरी मनीषा, सिन्धुपाल्चोक सुनखानीका बबिन भण्डारी, ललितपुर चौघरेका रामबहादुर श्रेष्ठ र नुवाकोट फलाटेका सुकराम तामाङको पनि मृत्यु भयो।
यसैगरी नुवाकोट थान्सिङकी मेनुका राई, उनका पति गणेशबहादुर राई, ओखलढुंगा गाम्नाङका इन्द्रबहादुर खड्का, मकवानपुर चित्लाङकी निशा गमाल, उनका भाइ निरण गमाल र ठेगाना नखुलेकी निशा खड्गीको पनि सोही घर तत्किँदा मृत्यु भएको छ।
बिटका असई रमाकान्त पाण्डेले गत शुक्रबारसम्म उक्त घरबाट शव निकालिएको जानकारी दिए। उनले भने, 'सात दिनसम्म निरन्तर शव निकाल्यौं। त्यहाँबाट निकालिएका गम्भीर अवस्थाका १० जनाभन्दा बढी घाइतेलाई वीर, शिक्षण र मनमोहन अस्पताल पठायौं। घटनास्थलमा २८ जनाको मृत्यु भए पनि अस्पताल पठाइएका १० जनामध्ये कतिको निधन भयो हामीलाई सूचना आएन।'
उनले मृतक इन्दु गिरीकी चारमहिने छोरी मनीषाको भने शव फेला नपरेको बताए। उनले भने, 'कसैले अस्पताल लगेको छ भने थाहा भएन तर परिवारले लगेको छैन। घटनास्थलमै छ भनेका छन्।' शोभाभगवतीमै भरतमान प्रधानको घर भत्किँदा १७ जनाको मृत्यु भएको थियो।