मेरो नेपाल ढपक्कै ढाक्यो रंगीन गुराँसले.. फोटोफिचर
म्याग्दी, चैत्र २७ - वसन्त ऋतु । राताम्मे गुराँसे जंगल । बीचमा नीला छाना भएको झुरुप्प बस्ती, घोडेपानी । माथि टुप्पामा प्रख्यात दृश्यस्थल पुनहिल । घान्द्रुक-पुनहिल-नागीसम्मका सबै डाँडापाखा गाढा रातो, रातो, सिमि्रक, गुलाबी र गुराँस फुलेर राताम्मे भएका छन् । गुराँसका पत्रै पत्र कुल्चँदै हिंड्दा उकालो काटेको पत्तै हुँदैन । झ्याउले ढाकिएका बूढा गुराँसका रूख, तिनमा चढेर चचहुई गरिरहेका बाँदर र चराको चिरबिर ! जता हेर्यो उतै रमाइलो !
बीच-बीचमा फुलेका चिमली र सेता गुराँस रातो घुम्टोमा जडिएका सिताराझैं टल्किन्छन् । लाग्छ- यति बेला वन बैंसालु बनेको छ । प्राकृतिक सौन्दर्यले पुलकित यात्रुहरूको मन पनि बैंसालु बनेको छ । रङ्गीन गुराँसको बोटमुनि प्रेमी-प्रेमिका अँगालोमा रमाइरहेका देखिन्छन् । बन्दुकको नाल सोभmयाएर सिकारीले चरालाई ताकेजस्तै क्यामेरा लिएर पर्यटकहरू गुराँसलाई कैद गर्न हतारिएका भेटिन्छन् ।
घोरेपानी-पुनहिल पदयात्राका लागि यो उपयुक्त मौसम हो । घोरेपानीमा यात्रुको हैसियतअनुसारका सुविधासम्पन्न होटल छन । घोडेपानी गाउँ पर्यटनका लागि अनुकरणीय छ । पुनहिल चढ्ने क्रममा अशक्त हुनेहरूलाई आफैंले बोकेर मोटरबाटोसम्म लैजान्छन् । गाडीको व्यवस्थागरी अस्पतालसम्म पुर्याउँछन् । अप्ठ्यारोमा परेका पाहुनालाई भ्याएसम्म साथ र सहयोग गर्छन् । 'यहाँ सेवा र सहयोगी भावना बढी छ । हामीले कमाएको विश्वास पनि यही हो,' घोडेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष टेकसर बुद्धुजाले भने, 'पैसै सबै कुरा होइन । र, उनीहरूले हाम्रो गुन पनि तिरेकै छन ।'
पोखराबाट बिरेठाँटीहुँदै सोझै पुनहिल पुग्न सकिन्छ । अर्को, बिरेठाँटीबाट घान्द्रुकको एक दिन बढी घुमाउरो बाटोबाट पुग्न सकिन्छ । म्याग्दी सदरमुकामबाट गाडीमा पोखरे बगर हुँदै चित्रेसम्म गाडीमा गई एक घन्टा पैदल हिँडेर पनि पुग्न सकिन्छ ।