भूकम्पपीडितलाई आएको पाल संविधानसभा भवनमा सभासद्बीच खोसाखोस,

काठमाडौं, वैशाख ३० –जनताले मनसुनको समयमा त्रिपाल नपाएर खुला आकाशमा बसीरहेको बेला संविधानसभा भवन नयाँ बानेश्वरमा भने सभासदहरुलाई त्रिपाल वितरण गरिएको छ । 



पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालका भूकम्प पीडितलाई प्रदान गर्न भनेर दिएको पाल संविधानसभामा वितरण गरिएको हो । पाल वितरणमा चर्को विरोध भएपछि केही सभासदले भने पाल फिर्ता गरेका छन् । 

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सहरी विकास मन्त्रालयले दिएको पाल आफूहरुले सभासदलाई वितरण गरेको जानकारी दिए । 

सबै सभासदले पाल नपाएपछि संविधानसभा नयाँ बानेश्वरमा सभासदहरुबीच नै चर्को विवाद भएको थियो । विवाद भएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पाल वितरण रोक्न सचिवालयलाई निर्देशन दिएका छन् । पाल लिनका लागि नेकपा(एमाले)का सभासद हारालुछ गरीरहेका थिए । प्रवक्ता शर्माले भने लाने सभासदले लगिसके फिर्ता गर्ने तथा नगर्ने कुरा सभासद कै भएको बताए । 

राप्रपा नेपालका सभासदले भने पाल नलिने भन्दै वितरण प्रक्रियाप्रति नै असहमति जनाएको छ । सो पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल टिवटरमा टिवट गर्दै पाल वितरण प्रक्रिया गलत भएको भन्दै आफुहरु भने नलिने बताएका छन् । 

काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने व्यक्तिगत हिसाबले आफूले पाल नलिएको बताए । सरकारी राहत नलिने पहिल्यै घोषणा गरेकाले पाल नलिएको उनको भनाइ छ । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका सभासद राजेन्द्र पाण्डे, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देवलगायतले पाल लिन लुछाचुडी गरेका थिए । 

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भने पाल प्रकरणमा प्रतिक्रिया दिन चाहेनन् । एमाओवादीले भने पाल दोलखा पठाउने पाल प्रकरण चर्कदै जाँदा संविधानसभा नयाँ बानेश्वरमा पाल लिने र नलिने सभासदहरु दूई धु्रवमा विभक्त भएका छन् । राप्रपा नेपालले जनता खुला आकाशका बसीरहेको बेला आफुहरु पाल नलिने र लिएको भएपनि फिर्ता गर्ने बताएको छ । 

एकीकृत नेकपा(माओवादी)ले भने संसद सचिवालयले वितरण गरेको पाल बुझेर दोलखाका भूकम्प पीडितलाई पठाउको छ । एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले भने आफ्नो पार्टीका कुनै सभासदले पाल लिएको भए दोलखा पठाउन निर्देशन दिएको बताए । 

पाल वितरण गर्ने कुरा हामीलाई थाहा थिएन । जनताले पाल नपाएको बेला पाल वितरण भइरहेको छ । निजी ढङ्गले लिएका छन् । हाम्रो तर्फबाट रोक्न लगाएको र लिएकालाई दोलखा पठाउन निर्देशन दिइएको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।