‘सबै पास हुने’ हल्ला चलाएर एसएलसीमा ५३ प्रतिशत ‘फेल’

४ असार, काठमाडौं । यस वर्षको एसएलसी परीक्षामा शत प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउने हल्ला चलाइएको थियो । तर, शुक्रबार नतिजा सार्वजनिक हुँदा ५३ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ‘फेल’ गराइयो । र, ४७.४३ प्रतिशतलाई मात्रै कलेज पढ्न योग्य बनाइयो ।
एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा शिक्षा सचिव विश्वप्रकाश पन्डित पनि पत्रकार सम्मेलनमै थिए । उनले यो नतिजाबाट आफू असन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
एसएलसीलाई फलामे ढोकाको रुपमा लिन नहुने बहस भइरहेका बेला यसवर्षको एसएलसीको नतिजाले स्वयं शिक्षा सम्बन्धी नीति निर्मातालाई नै सन्तुष्टि दिएको छैन ।
सरकारी विद्यालयका ३३.१८ प्रतिशतमात्रै उत्तीर्ण
बिगतमा जस्तै यस वर्ष पनि सरकारी विद्यालयहरुको एसएलसीको परीक्षा नजिता निराशाजनक देखिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार सामुदायिक विद्यालयका ३३ दशमलब १८ प्रतिशत विद्यार्थीमात्र सफल भएका छन् ।
संस्थागत विद्यालयतर्फ करीव ९० प्रतिशत विद्यार्थी पास भएका छन् । सामुदायिक विद्यालयबाट यस वर्ष तीन लाख २ हजार ३९९ विद्यार्थी परीक्षामा सहभागी थिए ।
तीमध्ये १ लाख ३ तीन सय ४२ मात्र पास भएका छन् । संस्थागतबाट १ लाख २ हजार ९ सय ३९ सहभागी भएकामा भएका ९१ हजार नौ सय २५ जना पास भएका छन् ।