रामदेवको आश्रममा लैजान लागिएका २२ बालवालिकाको उद्धार

 2013  3 
  1
    Baba Ramdev
  • फाइल फोटो
१ असार, काठमाडौं । भारतीय योगगुरु रामदेवको हरिद्वारस्थित आश्रममा लैजान लागिएका बालबालिकालाई मंगलबार काभ्रेको स्थानीय प्रशासनले रोकेको छ ।
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई संरक्षण र शिक्षाका लागि भन्दै हरिद्वार लैजान पतञ्जली योगपीठ बनेपामा जम्मा गरिएको थियो । तर, अनुमति नलिएरै बालबालिका भारत लैजान लागेको थाहा पाएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी सुर्दशनप्रसाद ढकालले अनलाइनखबरसँग भने- ‘२२ जना बालबालिका आज हामीले सम्वन्धित अभिभावकलाई जिम्मा लगाएका छौं ।’
बालबालिका जम्मा गरेको थाहा पाएपछि स्थानीय प्रशासनले जानकारी लिएको थियो । तर, पतञ्जली योगपीठ बनेपाले कुनै कानुनी प्रक्रिया पूरा गरेको नपाएपछि स्थानीय प्रशासनले बालकल्याण समितिमा बुझाउन भनेको थियो । मंगलबार स्थानीय प्रशासनले बालकल्याण समिति, प्रहरीलगायतको उपस्थितिमा बालबालिकाहरु अभिभावकलाई जिम्मा लगाएको छ ।
प्रजिअ ढकालका अनुसार पतञ्जलीले गलत मनसायले बालबालिका लैजान लागेको भने नपाइएको बताए । उनले भने-भूकम्पपछि विभिन्न ठाउँमा राहत पनि बाँडे, पीडाको समयमा स्याहार गरे, कुनै गलत मनसायले बालबालिका जम्मा पारेको देखिएन ।’
बालबालिका बेचबिचनमा पर्ने खतरा बढेपछि सरकारले बालबालिकालाई एक जिल्लाबाट अर्कोमा लैजान रोक लगाएको छ । तर, प्रभावित बालबालिकाहरुलाई लक्षित गरेर ‘ट्रान्जिट हाउस’हरु बनाउन सकेको छैन ।