विषादी मिसिएको ढिंडो खाँदा चारजना गम्भीर विरामी

फोटो :विषादी मिसिएको ढिंडो खाँदा गम्भीर विरामी लालबहादुर तामाङको उपचार गरिँदै । तस्बिर : सुवास गोतामे
काठमाडौं : धादिङको पिंडा गाविसमा विषादी मिसिएको मकैको ढिंडो खाँदा एकै परिवारका चारजना गम्भीर विरामी परेका छन् ।

आइतबार बिहान मकैको ढिंडो र गुन्द्रुक खाँदा धादिङको पिंडा–८, काउकाईका एकै परिवारका चारजना गम्भीर विरामी भएका हुन् ।

विषाक्त खाना खाँदा ८५ वर्षीय लालबहादुर तामाङ, १५ वर्षीय नक्कली तामाङ, ४१ वर्षीय सानी माया तामाङ र ४० वर्षीय सुनबहादुर तामाङ गम्भीर विरामी परेपछि उपचारका लागि काठमाडौं ल्याइएको छ  ।

विषाक्त खानाले गम्भीर विरामी परेका चारै जनाको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको प्रशासकीय अधिकृत नवराज रुपाखेतीले जानकारी दिए ।

गम्भीर विरामी सानीमायाको उपचार गरिँदै । तस्बिर : सुवास गोतामे
विषाक्त खाना खाएकामध्ये लालबहादुरको अवस्था चिन्ताजनक रहेको रुपाखेतीले बताए । अन्य तीनजनाको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको छ ।

यसअघि २०७१ चैत २५ गते विषाक्त गहुँको रोटी खाँदा काउकाई नजिकैको पुकुन गाउँका ६ जनाले ज्यान गुमाएका थिए ।