News
»
संविधानसभामा भएको तनावप्रति अमेरिकी राजदूतको चासो
संविधानसभामा भएको तनावप्रति अमेरिकी राजदूतको चासो
काठमाडौँ, माघ ६–नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग भेटवार्ता भएका छन् ।
पूर्व प्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा मंगलबार बेलुकी भएको भेटमा अमेरिकी राजदूतले संविधानसभामा हिजो उत्पन्न असहज परिस्थिति तथा संविधान निर्माण प्रक्रियाका विषयमा चासो राखेका थिए ।
अमेरिकी राजदूतले संविधान निर्माण प्रक्रियामा दलहरुबीच विद्यमान असमझदारी, संविधानसभामा हिजो देखिएको परिस्थिति, सहमतिको प्रयास तथा संभावनाका विषयमा जिज्ञाशा राख्नुका साथै नेपाली जनताको चाहना अनुरुप छिट्टै संविधान निर्माण गरी आर्थिक विकासको बाटोमा मुलुकलाई लैजान राजनीतिक दलहरुलाई सफलता मिलोस् भन्ने शुभकामना दिएका थिए ।
पूर्वप्रधानमन्त्री नेपालले सहमतिका लागि नेकपा (एमाले) सहितका दलहरु अत्यन्तै लचिलो भएको अवस्थामा पनि हिजो सहमति हुन नसकेको र प्रतिपक्षी दलहरुले सहमति तथा प्रक्रिया दुबैमा बाधा उत्पन्न गरी एउटा लोकतान्त्रिक मुलुकका लागि नसुहाउँदो क्रियाकलाप हिजो संविधानसभामा देख्नु परेको कुरा उल्लेख गरे । उनले जनताको चाहना र समय सीमाका कारण प्रक्रियामा प्रवेश गर्नु परे पनि सहमतिको ढोका खुल्लै रहने कुरा उल्लेख गर्दै प्रक्रिया अन्तिम विकल्प भएको कुरा समेत उल्लेख गरे ।
अमेरिकी राजदूतसँग आज भएको भेटपछि उपस्थित सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै पूवप्रधानमन्त्री नेपालले हिजो संसदमा घटेको घट्ना प्रति दुःख व्यक्त गर्दै त्यसको घोर भत्र्सना एवम् निन्दा गरे । उनले हिजो प्रमुख प्रतिपक्षी दलका सभासद्हरुले देखाएको व्यवाहार अलोकतान्त्रिक, हिंस्रक, क्रुर तथा मानवताशून्य रहेको भन्दै यस्ता गतिविधिहरुका आधारमा नै नेपाली जनता तथा अन्तर्राष्ट्रिय समुदायले समेत सम्बन्धित दललाई विश्वास नगर्ने वातावरण निर्माण भएको कुरा उल्लेख गरे ।