झापा, माघ १२ : विसं २०५३ फागुन २ गते विर्तामोडमा एउटा
खबरले सनसनी मच्चायो । रिक्सा कुदाउँदै एउटी महिला सडकमा आई भनेर ।
हेर्नेको रमिता लागेको थियो । यो खबर भोलिपल्टका अखबारमा पनि छापिए ।
रिक्सा कुदाउने ती महिला चारपानेकी फुलमाया धिमाल हुन् भनेर दुनियाँले
चिन्यो । साहसी भनेर चिनिएकी तिनै फुलमाया विगत पाँच छ वर्षदेखि
विर्तामोडमा कतै देखिएकी थिइनन् । उनी सडकमा रिक्सा गुडाउँदै आउँदा तातो
खबर बनाउने सञ्चारमाध्यमले यो बितेको छ वर्ष फुलमाया कता गइन् भनेर खोज खबर
पनि गरेनन् । तर उनी यही साता फेरि रिक्सा लिएर विर्तामोडमा झुल्किएकी छन्
। “यति धेरै दिन कहाँ गएकी थियौँ ” चिन्ने जान्नेहरूले गर्ने यस्तै मायालु
प्रश्नको जवाफ दिँदै उनी विर्तामोडमा अहिले रिक्सा गुडाउँदै यात्रुलाई
गन्तव्यमा पु¥याउन थालेकी छन् । अलि ठट्यौलो भाषामा जवाफ दिन रुचाउने उनी
कसैकसैलाई भन्छिन्, “फुलमाया नहुँदा विर्तामोड ठप्प त भएन होला नि !”
फुलमाया धिमाल नेपालकै प्रथम महिला रिक्सा चालक हुन् ।
उनले १८ वर्षअघि विर्तामोडमा रिक्सा चलाउँदा विर्तामोडबाट शनिश्चरे
पु¥याएको भाडा ५० पैसा थियो । मुक्ति चोकबाट विर्ताबजार पु¥याएको भाडा चार
आना लाग्थ्यो । जीवन निर्वाहका लागि अनेक दुःख भोगेकी उनी रिक्सा कुदाउन
थालेपछि भने मुलुककै चर्चित नारी बन्न पुगिन् । फुलमायाले फेरि रिक्सा
कुदाउन थालेको सुनेपछि विर्तामोडमा उनलाई धुइँधुइँती खोज्यो । तीनजना बलिया
मानिसलाई सिटमा बसाएर मुक्ति चोकबाट महानन्द चोकतिर जाँदै गर्दा उनी
भेटिइन् । चाउरी परेको अनुहार उस्तै थियो । अलिक बुढ्यौलीले छोइसकेछ, दाँत
फुक्लिन थालेका रहेछन् । पुरानो जम्पर ज्याकेट, पातलो लुङ्गी र
फ्याट्फ्याटे चप्पलमा भेटिएकी फुलमायाको अनुहार माघको दिनमा समेत पसिनाले
निथ्रुक्क थियो । बुढेसकालमा रिक्सा तान्न सजिलो छैन भन्ने उनकै अनुहारबाट
चुहिएको पसिनाले बताउँथ्यो । उनलाई पछ्याउँदै यो पङ्क्तिकार शनि अर्जुन
नगरपालिका वडा नं ५ स्थित एक झुपडीमा पुग्यो । जहाँ फुलमायाको डेरा रहेछ ।
मन्जुर मियाको झुपडीको एक पाखोलाई फुलमायाको परिवारले मासिक ६०० तिरेर
डेरा बनाएको रहेछ । डेरामा फुलमायासँगै उनको छोरो अमरबहादुर धिमाल र चारजना
नातिनातिना बस्छन् । “भट्भटेको ठक्करले करङ भाँचिएपछि कुदाउन छाडेँ,” लामो
समयको अन्तरालपछि फेरि रिक्सा कुदाउन थालेको बताउँदै उनले भनिन्, “अहिले
फेरि बाध्यताले कुदाउनुप¥यो ।” उनका अनुसार छ वर्षअघि फागु पूर्णिमाका दिन
विर्तामोडको पश्चिम बस स्टेन्ड नजिकै राजमार्गमा भाङ खाएर मातिएका युवाले
चलाएको मोटरसाइकल हुइँकिएर उनको रिक्सामा बज्रियो ।
दुर्घटनामा उनको छातिको एउटा करङ भाँचिएको थियो भने हात र खुट्टामा
गम्भीर चोट लागेको थियो । चार महिना भारतको कदमतोला मेडिकल कलेजमा उपचार
गरेपछि उनी निको त भइन्, तर रिक्सा कुदाउन नसक्ने गरी । “अहिलेसम्म दाहिने
हात चल्दैन,” दुर्घटनामा घाइते भएपछिको पीडा सुनाउँदै उनी भन्छिन् – “धन्न
बाँचे छु, मान्छेहरू विचरी फुलमाया मर्ने भई भन्थे ।” उनी अहिले पनि एक
हातको आडमा रिक्सा कुदाउँछिन् । ज्यानमा तागत सकिँदै गएको छ । पेट हरक्षण
दुखिरहने बताउने उनी अहिले पनि रिक्सा नकुदाए हातमुख जोर्नै गाह्रो हुने
बताउँछिन् । अहिले उनले कुदाएको रिक्सा जेठो छोरा अमरबहादुरको हो ।
अमरबहादुर क्याटरिङमा भान्सेको काम पाउँदा रिक्सा घरमा छाडेर हप्तौँसम्म घर
बाहिर निस्कन्छन् । फुलमाया त्यही छोराको रिक्सा लिएर सडकतिर लाग्दिरहिछन्
।
फुलमायाको परिवार :
अहिले फुलमाया ६१ वर्ष पुगिन् । पच्चीस वर्षअघि पतिले छाडेपछि फुलमाया
एक्लैलाई चार छोरा र तीन छोरीको लालनपालन गर्ने जिम्मेवारी आइलाग्यो ।
चारपानेमा त्यसबेला बस्दा उनले साहुको घरमा भाँडा माझ्नेदेखि काठमाडौँमा
गलैँचा बुन्नेसम्मको काम गरिन् । चिसोबाट जोगाउन नसक्दा उनका दुई छोराले
धरती नै छाडे । अहिले छोरीको बिहे भइसकेर आफ्नो घर गएका छन् भने उनी
नातिनातिनासँगै जेठो छोराको डेरामा छिन् । फुलमायाको जीवन नै डेरामा
गुज्रिएको छ । जेठी बुहारी सात वर्षअघि छोराछोरीलाई पालनपोषण गर्न धन कमाएर
ल्याउँछु भन्दै विदेश गएकी हालसम्म फर्केकी छैन । त्यही भएर नातिनातिना
हुर्काउन जेठो छोराको घरमा आएकी रहिछन् उनी । एघार वर्ष पुगेको एउटा नाति
चाउचाउ बोक्ने लेवरको काम गर्न थालेको उनी बताउँछिन् । घर नजिकै विद्यालय
भए पनि नातिनातिना कसैले किताब देखेका छैनन् ।
विदेशमा फुलमाया :
प्रथम महिला रिक्सा चालक भएको समाचार फैलिएपछि उनी तत्कालीन
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नजरमा परिन् । “झापा आएका बेला
गिरिजाबाबुले काठमाडौँ आउ फुलमाया भनेका थिए,” गिरिजाबाबुसँगको भेट
सम्झिँदै उनी भन्छिन्, “उनले नै मलाई अमेरिका जाने मौका मिलाइदिए ।”
गिरिजाबाबुले फुलमायालाई ‘छोरी’ भनेर बोलाउने गरेको उनी बताउँछिन् । झापा
कहिल्यै नछाडेकी फुलमाया अमेरिका र ब्रुनाई भ्रमणमा जान पाएकी थिइन् ।
उनलाई लैजानमा नेपाली काँग्रेसकी नेत्री गिरिराजकुमारी प्रसार्इंले ठूलो
भूमिका खेलेका थिए । फुलमायाको नागरिकतासमेत प्रसाईंले नै बनाइदिएका हुन् ।
त्यही नागरिकताबाट राहदानी बनेपछि उनले प्रथम महिला रिक्सा चालककै
हैसियतमा विदेश भ्रमण गर्न पाइन् ।
विदेशमा भव्य स्वागत र सम्मान पाएको उनले भुलेकी छैनन् । तर उनले
त्यसबेला खिचेका तस्बिरको सङ्ग्रह भने गरेकी छैनन् । विदेशमा रहँदा पाएको
उपहार र नगद सहयोग डलर नेपाल आउँदा नदिइएकामा भने उनको गुनासो छ । “फुलमाया
डुल्यौँ, घुम्न पायौँ, सकियो नि उताको पैसा”, नेपाल आइपुगेपछि अमेरिका
भ्रमणमा सँगै रहेका एक व्यक्तिले भनेको सम्झिँदै उनी थप्छिन्, “त्यो डलरले
घर बनाउँला भन्ने सोचेको थिएँ, खाइदियो कसले ” विदेशमा गाईको मासु खान
दिँदा ‘नो नो’ भन्दै आफूले अस्वीकार गरेको उनले बताइन् । विदेशबाट फर्किंदा
फुलमाया चिटिक्क सिङ्गारिएर घर आएको उनलाई नजिकबाट जान्ने शनि अर्जुन–५ की
रुपा श्रेष्ठ फेदापे बताउँछिन् । फुलमायाको रिक्सामा पहिलापहिला धेरैपटक
चढेको बताउने रुपा उनी असाध्य सरल र मेहनती महिला भएको बताउँछिन् ।
फुलमायाले चार महिनासम्म अमेरिका र ब्रुनाई घुमेकी थिइन् । स्रोत :रातो पाटि
नेपालको पहिलो महिला रिक्सा चालक एक्कासी झापामा देखिएपछि ….