प्रेम दिवसमा चौधरीसँग लठ्ठिने को को ?
‘तिम्रो मायामा म बहकिएँ
यसलाई म हार भनूँ कि जित’
यसलाई म हार भनूँ कि जित’
कवि-गीतकार बसन्त चौधरीले यसरी कविता पाठ गर्दा दीर्घाका श्रोताहरूले साँचो अर्थमा प्रेमिल दिवसको अनुभूति गरे । ‘भ्यालेन्टाइन डे’ का अवसरमा फागुन २ गते राजधानीमा आयोजित ‘लभ इन दी एयर’ अन्तर्गत कवि चौधरीले आफूले २२ वर्षअघि रचेकादेखि हालै रचेकासम्म झन्डै डेढ दर्जन प्रेमिल कविता सुनाउँदा श्रोताहरू उमङ्गले झुमेका थिए ।
प्रेम नै जीवनको सार हो, राष्ट्रभक्तिभन्दा अर्को ठूलो भक्ति छैन र शान्तिका लागि सबैले आ-आफ्नो ठाउँबाट हरसम्भव प्रयत्न गर्नुपर्छ भन्ने मान्यतामा दृढ देखिए कवि चौधरी । चौधरीले कविता वाचन गर्ने क्रममा भने, ‘प्रेमलाई सजिलै व्यक्त गर्न सकिँदैन, सीमित शव्दमा यो व्यक्त हुनै सक्तैन । उनको आफ्नो अभिव्यक्ति थियो, ‘यो खालि हृदयले बुझ्छ र यसैले मात्र व्यक्त गर्न सक्छ ।
प्रेमले लपक्क भिजेका शव्द र वाक्यहरू पाठ गरिरहँदा श्रोता हर्षोल्लासले उम्लिएर कर्तलध्वनिले समर्थन गरिरहेका देखिन्थे । पाका प्रेमीहरू हल्लाका बीचमा हल्का ताली बजाउँथे भने नवयुवाहरू दिल खोलेर आफ्ना प्रेमिल अभिव्यक्ति साटिरहेका देखिन्थे । कवि चौधरीले कविता पाठ गरिरहेकै अवसरमा जब एउटा आफ्नो हिन्दी गजल स-स्वर सुनाए अनि श्रोता झन् रोमाञ्चित भएर हत्केला तातुन्जेल ताली बजाए ।
पाँचवटा पुस्तक, आठवटा सीडी एल्बम र ९० वटा गीत रेकर्ड गरिसकेका कवि-गीतकार चौधरीका प्रेमिल दिवसकै अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान, ललिककला प्रज्ञा-प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति त्रय गङ्गाप्रसाद उप्रेती, राघिनी उपाध्याय र सरुभक्तले गीतकार चौधरीका तीनवटा नवीनतम गीति एल्मबहरूको संयुक्त रुपमा विमोचन पनि गरेका थिए । यी एल्बमहरूमा वसन्त बेला, ‘कुछ ख्वाइशें कुछ बन्दिशें’ र ‘मुमेन्ट्स् अफ लभ’ थिए ।
सो अवसरमा गायक-गायिकाहरूमध्ये विश्व नेपाली, वाणिका प्रधान, मनोज राई, पवनराई र प्रकाश रसाइलीले एल्मबका नेपाली तथा हिन्दी गीत-गजलहरू गाएर सुनाएका थिए ।