काठमाडौंमा बसेर विदेशी बैंकको पैसा चोर्ने विदेशी पक्राउ

Petroslav-Hristov
११ चैत, काठमाडौं । अपराध पनि कस्ता कस्ता ! काठमाडौंमा बसेर एटीएम कार्डमार्फत फ्रान्स र स्वीडेन लगायतका देशका बैंकमा रहेको पैसा चोर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
यो घटनासँगै अन्तरराष्ट्रिय अपराधिक गिरोहले मार्टर तथा एटीएम कार्डमार्फत विदेशी बैंकको रकम चोरी गर्नका लागि नेपाललाई ट्रान्जिट पोइन्ट बनाउने गरेको रहस्य नेपाल प्रहरीले उजागर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक सय ७९ एटीएम कार्डसहित बुल्गेरियन नागरिकलाई पक्राउ गरेपछि यस्तो अपराधको रहस्य बाहिर आएको हो ।
पक्राउ परेका पेटोस्लाभ रिस्टोभका साथबाट प्रहरीले १ करोड २० लाख ८ हजार रुपैयाँसमेत बरामद गरेको छ ।रिस्टोभलाई बुधबार नै पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
साथै प्रहरीले नेपालका बैंकहरुबाट पनि एटीएममार्फत चोरी हुनसक्ने भन्दै एटीएम प्रयोगकर्ता बैंक र सेवाग्राहीलाई सजग समेत गराएको छ ।
सयथरी एटीएम घुसार्दै, पैसा निकाल्दै
ठमेलका विभिन्न एटीएम सेन्टरहरुबाट शंकास्पदरुपमा रकम निकालेपछि हिमालयन बैंकले प्रहरीलाई खबर गरेको थियो । मास्क लगाएर एटीएम सेन्टरमा प्रवेश गरेका उनले धेरैवटा एटीएम कार्डबाट पैसा निकालेका थिए ।
त्रिदेवीमार्गस्थित टेम्पल टाइगर अपार्टमेन्टस्थित रिस्टोभको कोठाबाट प्रहरीले १७९ थान एटीएम कार्ड, १० लाख नेपाली रुपैयाँ, ५७ हजार २ सय युरो र ४० हजार अमेरिकी डलरका साथै ल्यापटप बरामद भएको छ । पेसाले होटल म्यानजेर रहेका उनी पछिल्लो ६ महिनामा मात्र ४ पटक नेपाल आएका छन् । उनले एटीएमबाट एक पटकमा १० हजारका दरले पैसा निकाल्ने र तत्काल मनी चेन्जरमा गएर साट्ने गरेको पाइएको छ ।
बैंकका अधिकारीले सीसीटीभीको फुटेजका आधारमा शंका गरेपछि एटीएम मेसिन नै बन्द गरेका थिए । लगत्तै प्रहरीलाई सीसीटीभी फुटेज उपलब्ध गराएपछि बुल्गेरियन नागरिक रिस्टोभ पक्राउ परेका हुन् ।
सीआईबीको अनुसन्धानका क्रममा विदेशका बैंकको चोरी भएको डाटा लिएर नेपाल आएका रिस्टोभले नेपालस्थित विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने र विदेश फर्कने गरेको पाइएको छ ।
यसअघि विदेशी बैंकको रकम एटीएम कार्डमार्फत चोरी गर्ने एक टर्किस नागरिक पनि १८ लाखसहित पक्राउ परेका थिए । दुबैको चोरी प्रकृति एउटै छ । सीआईबी प्रमुख डीआईजी मेहन्त मल्ल ठकुरीले भने-‘उनी कसैले दिएको डाटा लिएर नेपाल आएको देखिन्छ । उनले कार्ड पनि सँगै लिएर आएका छन् ।’
प्रहरीले बरामद गरेको एटीएम तथा मार्टर कार्डहरुमा पेपर टेप टाँसेर पासवर्डसमेत लेखिएको पाइएको छ ।
एटीएम प्रयोगमा सजग हुन प्रहरीको आग्रह
शविदेशी बैंकको रकम नेपालमा चोरी भएकाले नेपालको बैंकको अन्य रकम पनि देशमा चोरी हुन सक्ने भन्दै प्रहरीले बैंकहरु सजग हुनुपर्ने बताएको छ । ‘यसका पछाडि ठूलो गिरोह देखिन्छ’ डीआइजी ठकुरीले भने-‘बैंकहरु पनि सजग हुनुपर्छ ।’
हिमालयन बैंकका एक्जुकेटिभ अपरेशन अफिसर मृगेन्द्र प्रधानका अनुसार यो घटनालगत्तै मास्टर र एटीएम कार्ड प्रयोग गर्नेहरुलाई सावाधान रहन भनिएको छ ।  रिस्टोभले केही फ्रान्सको बैंकको र एक स्वीडेनको बैंकको खाताको रकम नेपालबाट झिकेको पाइएको छ ।
रकम दाबी गर्दैनन् विदेशी बैंक
सीआईबीका अनुसार अपराधिक गिरोहले नेपालमा आएर विदेशी बैंकको रकम एटीएम कार्डमार्फत चोरी गरे पनि सम्वन्धित बैंकले भने दाबी गर्न आएका छैनन् ।
रिस्टोभ पक्राउ परे पनि अहिलेसम्म सम्वन्धित बैंकहरुले कुनै सम्पर्क गरेका छैनन् । यसअघि बरामद भएको १८ लाख अदालतमै छ । नेपालमा बरामद भएको रकम ठूलो मात्रामा भए पनि धेरैको खाताबाट निकालिएको छ ।
बैंकहरुले वीमाबाट त्यसलाई पूर्ति गरेको हुन सक्ने सीआईबीको अनुमान छ । रकम दाबी गर्ने प्रक्रिया पनि झञ्झटिलो हुने भएकाले विदेशी बैंकहरु मौन बसेको हुन सक्ने अनुमान छ ।
एटीएमबाट रकम निकालेको बैंकहरुलाई तत्काल थाहा हुने भए पनि हराएको दाबी गर्दा बैंकको साखमा असर पर्ने भएकाले उनीहरुले दाबी नगरेको हुन सक्ने प्रहरीको अनुमान छ ।