कोइलाखानीमा पुरिएर एक मजदुरको मृत्यु

४ फागुन, घोराही । दाङको स्युजा गाविस ३ विजयखर्कमा रहेको कोइलाखानीमा च्यापिएर मृत्यु भएका एक मजदुरको १८ घण्टा पछि शव बाहिर निकालिएको छ ।
आइतबार दिउँसो ४ बजे कोइलाखानीमा ढिस्को खसेर च्यापिएर मृत्यु भएका सैघा गाविस ७ बाम्लाका ४५ वर्षीय भिमकान्त रावतको सोमबार विहान शव निकालिएको हो ।
खानीभित्र खसेको ढिस्कोलाई हटाएर रावतको शव विहान साढे १० बजे निकालेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
कोइलाखानीमा थुनिएका नारायण पुन र गोपाल विक घाईते अवस्थामा आइतबार नै कोइलाखानीबाट बाहिर निस्किन सफल भएका थिए ।
शाहको बबईमा अन्त्येष्टि
यसैबीच हृदयघातका कारण गएराति निधन भएका राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति तुलसिपुरका अध्यक्ष जितेन्द्रबहादुर शाहको अन्त्यष्टि गरिएको छ ।
तुलसीपुर नगरपालिका ६ निवासी शाहको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा निधन भएको थियो । शाहको उरहरी शितलपुरको बबई घाटमा दाहसंस्कार गरिएको छ ।
शाह २०५९ सालमा स्थापना भएको गंगा बस ब्यवसायी समितिको संस्थापक अध्यक्ष हुन् । २०६३ सालमा गंगा बस ब्यवसायी समिति र राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिबीच एकीकरण भएपछि शाह  अध्यक्ष पदमा सर्बसम्मत चयन हुदै आएका थिए ।