सहयोग रकम आउँदा विवश आमाको आँखामा आशा
दाङ: “छोराहरुको मृत्यु पर्खेर बसिरहेका विवश बाबुआमा” शीर्षकमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र अनलाइनमा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग रकम संकलन सुरु भएको छ ।
समाचार प्रकासित भएपछि दुई विरामीका आमा हिमा सिंजाली मगर र मामा अमर बुढालाई दिनरात मोबाइल कल उठाउन भ्याइन भ्याई छ भने सहयोग रकम आउन थालेपछि छोराहरुको काल पर्खेर बस्न विवश आमा हिमा र बुवा गुमान सिंहको आँखाभरि आशा र मनभरि खुशी छरिएको देख्न सकिन्छ ।अन्नपूर्ण पोष्ट्को समाचार सामाजिक सञ्जालहरुमा फैलिएपछि स्वदेश तथा विदेशबाट दानीमनका खानी भएका व्यक्तिहरुले आफ्नो गासँ कटाएरै भएपनि सहयोग पठाउन थालेका छन् ।
बिहीवार राप्ती एकता समाज कुवेतले पठाएको ३५ हजार सहयोग रकम एक कार्यक्रमबीच हस्तान्तरण गरियो । राप्ती समाज कुवेतले पठाएको उक्त रकम राप्ती एकता समाजका बसन्त पौडेलले नगद रकम बिरामी दुई बालककै हातमा हस्तान्तरण गरे ।
रोजगारीको सिलसिलामा कुवेतमा रहेका राप्ती एकता समाज कुवेतका राज मल्लले अनलाइनमा भने, “थोरै भएपनि एउटा असल प्रयोजनमा सहयोग गर्न पाउँदा साह्रै खुशी लागेको छ ।”
सहयोग रकम प्राप्त गरिसकेपछि दुई बिरामी बालकका आमा हिमाले भनिन्, “हामी त दुबै छोराहरुको ज्यान बचाउ नसक्ने भयौं भनेर रुँदै बसेका थियौं । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार आएपछि देश विदेशबाट धेरै फोन आयो । अब पैसा पनि आउन थालेको छ ।
अब छोराहरु बचाउन सकिन्छ भन्ने आशा पलाएको छ ।” एकै पटक दुबै छोराहरुलाई ठूलो रोग लाग्यो । एउटा छोराको मुटुमा तीनवटा प्वाल अर्को छोराको जिब्रो यस्तो । हामी त माया मारेर बाँचे पाल्ने मरे फाल्ने भनेर काठमाडौंबाट १५ महिना पहिले घर आएका हौं । काल पर्खिनु भन्दा हामीसँग अरु क्यै उपाय नै थिएन । अन्नपूर्ण पोष्टले हाम्रो जिन्दगी नै फेरिदियो ।”
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा समाचार छापिएकै दिन मुटुकै व्यथाले मृत्युवरण गरेकी छोरी सुशीलाको तेह्रौं दिनको पुण्यतिथि सकेर निस्केका मामा अमर बुढा भाञ्जाहरुको उपचारका लागि जुटेका छन् ।
“मुटुकै व्यथाले कक्षा ११ मा पढिरहेकी छोरी बितिन् । आफ्नी छोरीलाई बचाउन सकेन मैले । यता भाञ्जाहरुको यो हालत छ । अब छोरीको तेह्रौं दिन सकेर निस्केको छु ।

बैनीको मोबाइल उठाइदिने र देशविदेशबाट राखिएका चासो र चिन्तामा स्पष्ट पार्ने काम गरिरहेको छु ।” बिरामी दुई बालकका मामा अमर बुढाका अनुसार बुधवार बेलुकीसम्म स्वदेश तथा विदेशबाट २ लाख ७ हजार ३ सय ८५ रुपैयाँ आमा हिमा सिंजाली मगरको खातामा जम्मा भइसकेको छ ।
“फुटकर रुपमा बैंकमा आएको यो रकम र राप्ती एकता समाज युकेले पठाइदिएको ३५ हजार गरी झण्डै साढे २ लाख रुपैयाँ जम्मा भइसकेको छ”, मामा अमर बुढाले भने । त्यसबाहेक अमेरिकामा माला महत, हङकङमा रिस्ता गुरुङ लगायतको समूह, युकेमा मानबहादुर थापा, जापानमा विश्वेश्वर रेग्मी र नेबेमा रहेका नेपाली लगायतले सहयोग रकम संकलन गरिरहेको जानकारी दिएका छन्
“फुटकर सहयोग गर्नेहरु दानवीरहरुको रकममात्रै हामी कहाँ आइपुगेको छ । व्यक्ति र समूहले विभिन्न देशमा सञ्चालन गर्नुभएको सहयोग संकलन अभियानबाट झनै धेरै रकम आउने अनुमान गरेका छौं”, मामा अमरले भने । स्वदेशमा पनि काठमाडौमा करीव १ लाख जम्मा भएको र आफूहरु लिन जान नसकेको तथा जिल्लामा पनि सहयोग गर्ने क्रमजारी रहेको उनले बताए ।
