एयरपोर्ट बन्द हुँदा बिहे छुट्यो

काठमाडौं,फागुन २४ – ‘बाबा तपाई किन नआउनुभएको ?’, ७ बर्षे छोरीले फोनमा सोधिराख्दा काभ्रेका बिष्णु उप्रेती भक्कादिदै थिए । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षा कक्षमा तीन दिनदेखि बसिरहेका उप्रेतीले छोरीलाई सम्झाउँदै थिए, ‘नेपालमा प्लेन चलेको छैन् । चल्नेबित्तिकै आइहाल्छु ।’   उप्रेतीले छोरीलाई बुधबार बेलुका काठमाडौंमा भेट्ने बाचा गरेका रहेछन् । बुधबार १२ः४५ को कतार एयरवेजबाट नेपाल जाने उनको टिकट थियो । ‘विमानस्थल आएपछि मात्रै थाहा भयो, टर्किस बिमान दुर्घटनामा परेको,’ उनी भन्दै थिए, ‘त्यसपछि छिट्टै खुल्छ होला भनेर बसेको त आज तीन दिन भइसक्यो ।’   उनी अल्माज कम्पनीको क्याटरिङमा काम गर्छन् । उनको समुहमा १० जना नेपाली छन् । ‘कम्पनी फिर्ता गएमा फर्केने ढिला भइन्छ’, उनले भने, ‘अहिले झन बेहाल पो हुन पुग्यो ।’   हमाद विमानस्थलका प्रशासनले सबै बिमानका यात्रुलाई बस्न दिइएको छैन् । ठाँउ ठाँउमा यात्रु बस्ने कुर्सी छन् । ती सबै कर्सी अलपत्र यात्रुले भरिएका छन् । ‘हामीलाई (कतार एयरवेजका यात्रु) मात्रै बस्न दिएको छ । अरु बिमानका यात्रुलाई फर्काइ हालेको छ’, स्याङ्जाका हिम गुरुङले भने,‘सबैलाई बस्न दिने हो भने भीड थेगिनसक्नु हुने थियो ।’   गुल्मीका राधेस पन्तको विवाहको लागि बिदामा घर जाँदै थिए । उनको शुक्रबार बिहे गर्ने तिथि तोकिएको थियो । ‘बास एयरपोर्टकै भइहाल्यो’, तनावमा देखिएका पन्तले भने, ‘बिहे कसरी गर्नु ?’   ३ बर्षअघि कतार आइपुगेका पन्तले घर जान बल्ल बल्ल समय मिलाएका थिए । ‘सबै पक्का भएर कम्पनी छोडेर हिडेको । यता फसादमा परियो,’ उनी भन्दै थिए ।   ६ जनाको समुहमा सुतिरहेका बाग्लुङका गगन थापा फेरि कतार नफर्कने गरी कम्पनीले भिसा रद्द गरिसकेको छ । ‘कम्पनीले एयरपोर्टसम्म ल्याएर छोडिदियो । हाम्रो जिम्मेवारी यति हो भनेर फर्कियो भन्दै गयो,’ थापाले भने, ‘फेरि क्याम्पभित्रै फर्कन पासको व्यवस्था छैन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।