बमका हत्यारा नेपालमा सुरक्षित, साउदीमा समातिए

१ चैत, काठमाडौं । प्रहरीले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याका योजनाकारसहित चार जनालाई सार्वजनिक गर्दा मुख्य सुटर सञ्जय स्माइली मगर फरारको सूचीमा थिए ।
सञ्जय स्माइली
सञ्जय स्माइली
न्यायाधीशलाई गोली ठोकेपछि अढाइ वर्षसम्म सुरक्षित रहेका स्माइली साउदी छिरेको चार महिना नपुग्दै त्यहाँको प्रहरीबाट समातिएका छन् । उनी सुरक्षित हुने ठानेर ट्रक ड्राइभरका रुपमा हालसालै साउदी पुगेका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी स्रोतका अनुुसार बमका मुख्य हत्यारा भनिएका स्माइली गत मंसिरमा मात्रै साउदी अरब गएका थिए ।
‘हामीले अनुसन्धान सुरु गर्नासाथ उनी साउदी गएका रहेछन्’ एक प्रहरी अधिकृतले भने । स्रोतका अनुसार मुख्य स्माइली मंसिर १९ गते रातोपुलस्थित फ्युचर लिंक इन्टरनेशनल म्यानवापर कम्पनीबाट साउदी गएका हुन् ।
स्माइलीले आफ्नै नाममा परराष्ट्र मन्त्रालयबाट पासपोर्ट बनाएको पाइएको छ । उनको पासपोर्ट नम्बर ०६५८३६९१ छ ।
न्यायाधीश बमको ०६९ जेठ १८ गते काठमाडौंको यूएन पार्क नजिकै शंखमूलमा गोली हानी हत्या भएको थियो ।
हरीका अनुसार चुरेभावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा भएको हत्यामा न्यायाधीश बमलाई गोली हान्ने काम भगवान भनिने सञ्जय स्माइली मगरले गरेका थिए ।
प्रहरीले बाबु कार्कीसहित ४ जनालाई पक्राउ गरी पुस १९ गते नै प्रहरी मुख्यालयमा सार्वजनिक गरेको थियो । तर, सञ्जय भने त्यसको ठीक एक महिनाअघि मात्रै साउदी अरब गएको पाइएको छ । उनलाई इन्टरपोलले जारी गरेको रेड कर्नर नोटिसका आधारमा साउदी प्रहरीले हालै पक्राउ गरेको हो ।
उनी बिल्डिङ कन्ट्रक्सन मोनविर कोडा अल्जोन नामक कम्पनीमा कामदारका रुपमा गएको पाइएको छ । ‘बम हत्याकाण्डमा उनी सुटर थिए । ट्रक ड्राइभर पेशामा साउदी गएका रहेछन्’ स्रोतले भन्यो ।
सीआईबीका प्रमुख डीआइजी हेमन्त मल्ल ठकुरीले पनि स्माइली साउदी अरबमा पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार स्माइलीलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ ।
प्रहरीले हत्याका योजनाकार बाबु थापासहित चारजनालाई पक्राउ गरी गत पुस १९ गते नै सार्वजनिक गरिसकेको छ । स्माइली भने साउदी अरब पुगेको प्रहरीले पत्ता लगाएको थियो ।
सीआईबीका अनुसार भगवान भनिने स्माइलीले नै न्यायाधीश बमलाई गोली हानेका थिए । चुरेभावर पार्टीको आधिकारिकता विवादमा बमको फैसलाका कारण आफू गृहराज्यमन्त्री हुनबाट बञ्चित भएको र आफ्नो राजनीति सकिएको भन्दै थापाले बमको हत्याको योजना बनाएका थिए ।
यो पनि पढ्नुस्