भूकम्पपछि पनि लगातार भूकम्पको धक्का आउन थाले पछी हजारौँले काठमाडौं छाड्दै गाउ जाने क्रम बढ्दो

महाभूकम्पको तीन दिनपछि सवारी खुलेपछि काठमाडौं छाड्नेक्रम बढेको छ ।
काठमाडौँबाट गाडी छुट्ने नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशालालगायतका स्थानमा दिनभर ठूलो संख्यामा यात्रुहरुको भीड थियो । शनिबारको भूकम्पपछि पनि लगातार भूकम्पको धक्का आउनु र हराइरहेका कयौँको शवले महामारी निम्त्याउने भयले सर्वसाधारणले काठमाडौँ छाडेको बताएका छन् ।
नागढुंगा प्रहरीका अनुसार काठमाडौँबाट बाहिरिएका अधिकांश सवारी खचाखच देखिएका थिए । तेब्बरभन्दा बढी पैसा तिरेर सर्वसाधारणले आफ्नो घर फर्किरहेका हुन् ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले सरकारले काठमाडौं छाड्न प्रोत्साहित नगरे पनि विशेष परिस्थितिमा आफैँ विवेक पुर्‍याउन आग्रह गरे । 'सरकारले तपाईंहरु जानुस् भनेको छैन,' उनले भने, 'तर परिस्थिति सामान्यिकरण गर्न जनताले विवेक पुर्‍याउनु राम्रो हो ।'
मन्त्री रिजालले जोखिम मूल्यांकन गरेर सुरक्षित उपाय अपनाउन पनि आमसर्वसाधारणमा आग्रह गरे ।
मन्त्री रिजालले अहिलेसम्म गोरखामा फँसेकाहरुको उद्दार गर्न नसकिएको स्वीकार गरे । उनले १५९ पटक हेलिकोप्टरले उद्दार गरे पनि गोरखा पुग्न नसकिएको बताए ।