कार दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु

२७ वैशाख, प्यूठान । प्यूठानको स्वर्गद्वारी दर्शन गरी दाङ फर्कँदै गर्दा आइतवार अपरान्ह कार दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । एक बालिका घाइते भएकी छन् ।

स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा बा ११ च १०५३ नम्बरको निजी सुजुकी कार प्युठानको तिराम-४ थल्लेनीमा दुर्घटना हुँदा दाङ लालमटीया-४ का ४० वर्षीय रुकेश गैरे, उनका ६५ वर्षीय बुवा कृष्ण गैरे र ६० वर्षीया आमा तिला गैरे छन् ।
बाबुछोराको घटनास्थलमै मृत्यु भएको हो भने गम्भिर घाइते आमा तिलालाई थप उपचारका लागि जिल्ला अस्पताल प्यूठान ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्यूठान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्वर्गद्वारीबाट घरतर्फ दाङको लालमटिया देउखुरी फर्कँदै गरेको कार माडी नदीमा खसेको छ ।
दुर्घटनामा घाईते रुकेशकी ११ वर्षीया छोरी मियाँ गैरेका अनुसार रुकेश आफैले कार चलाएका थिए । सामान्य घाइते ति बालिकाको स्वास्थ्य चौकी देविस्थानमा उपचार भैरहेको छ ।
जिउँदो माछा निल्न खोज्दा ज्यान गयो
यसैवीच, प्यूठान नगरपालिका-१७ निवासी २२ वर्षीय मधु थापाले जिउँदो माछा निल्ने प्रयास गर्दा घाँटीमा अड्केर मृत्यु भएको छ । उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।