कुखुराको मासु प्रतिकिलो २ सय ! काठमाडौँ को जनता हरु बाहिरिएपछि मासुको भाउ घट्यो

२५ वैशाख, काठमाडौ । भूकम्पको त्रासले उपत्यकावासी बाहिरिएपछि काठमाडौमा कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही मासु व्यवसायीले शुक्रबार दैनिक पत्रिकामा मासु सस्तो भएको सूचना नै निकालेका छन् ।
बिहीवार कुखुरको मासुको मूल्य प्रतिकिलो दुईसय पचास रुपैयाँ थियो । शुक्रबार घटेर दुई सय रुपैयाँमा झरेको छ ।
Meatउपत्यकामा महामारी फैलिन्छ भन्दै उपत्यका छाड्नेहरु बढेसँगै मासुको खपतमा कमी आएको छ । मासु खाँदा रोग लाग्छ भन्ने हल्ला समेत चलेपछि मासुको बजार चौपट भएको व्यवसायी बताउँछन् । ‘उपत्यकामा मान्छेको घटेको घट्यै छन् तर, कुखुरा बढ्यो’ चम्पक कोल्ड स्टोर मैतीदेवीका पूर्ण श्रेष्ठले अनलाइनखबरसँग भने ।
उपत्यकामा ब्रोइलर कुखुराको उत्पादन बढेको जानकारी दिँदै श्रेष्ठले भने ‘हुर्केको कुखुरा पालिराखेर फाइदा हुँदैन, त्यसैले घाटा सहनु भन्दा सस्तो भाउमा बेच्दै राम्रो हुन्छ भनेर हामीले मूल्य घटाएका हौं ।’
काठमाडौका कुखुरा स्वस्थ रहेको दाबी गर्दै श्रेष्ठले निर्धक्क भएर मासु खान उपभोक्तालाई आग्रहसमेत गरे । ‘भूइँचालोले मान्छेलाई अत्याएको मात्रै हो, कुखुरालाई केही भएको छैन’ उनले भने ।
त्यसैगरी चिकेन हाउस नयाँ बजारका सञ्चालकले विहीबारको तुलनामा शुक्रबार मासु किन्नेहरु बढेको जानकारी दिए । एक किलो वा आधा किलो किन्नेले पनि दुईसय रुपैयाँमै पाउने उनले बताए ।