नेपालगन्ज विमानस्थलमा आगलागी
फोटो :फाइल फोटो
नेपालगन्ज : नेपालगन्ज विमानस्थलको धावनमार्ग नजिक रहेको घाँसे मैदानमा आइतबार दिउँसो आगलागी भएको छ।
प्रहरीका अनुसार दिउँसो तीन बजे धावनमार्गको घाँसेमैदानमा सल्किएको आगो एक्कासी फैलिएपछि नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचानल गरिएका थिए। आगलागीका कारण बेलुकासम्म विमानस्थल बन्द गर्नुपरेको थियो।
आगलागीका कारण आइतबार राँझा विमान स्थलका उडान प्रभावित भएका थिए। काठमाण्डौ आउने र जाने उडान सेवा आगलागीका कारण स्थगित गरिएका थिए।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । अत्याधिक गर्मि र तातो हावा समेत चलेका आगो नियन्त्रण गर्न कठिन भएको थियो । आगजनीमा बिमानस्थल परिसरको खर जल्नु बाहेक कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । नेपाल आयल निगमको गोदाम समेत नजिक भएकोले उच्च सर्तकता अप्नाउनु परेको थियो ।
आगलागी भएकै बेला नेपालगन्ज र आसपासको क्षेत्रमा मोवाइल सेवा ठप्प हुँदा संचार सम्पर्क र समन्वयमा केही समस्या भएको थियो ।