आफ्नै दाजुको गोली हानी हत्या गर्ने भाइले दिए यस्तो बयान


फोटो :जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका दिनेश बोहरा र उनले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल । तस्बिर : शिवराज भट्ट
धनगढी  : अंश सम्बन्धी विवादका कारण कैलाली सदरमकाम धनगढीमा मंगलबार दिउसो आफ्नै दाजु कुमार बोहराको हत्या गरी फरार रहेका दिनेश बोहरा मंगलबार राती पक्राउ परेका छन्।

जिल्ला प्रहरी, वडा प्रहरी र सादा पोषाकका प्रहरीको टोलीले उनलाई नलकटुवा पेस्तोल, उनले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो।

दाजुको हत्या गरेर फरार रहेका दिनेश बोहरा उर्फ श्रीदास गोविन्द सिहले १८ जनाको ज्यान जोगाउन दाजु कुमार बोहराको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। हत्या लगत्तै मृतक कुमारले चलाई रहेको भारतीय युके ०६/आर २६३२ नम्बर भएको बजाजको प्लाटीना मोटरसाईकल चलाएर भागेका दिनेशलाई मंगलबार राती साढे १० बजे कैलाली प्रहरीले धनगढी नगरपालिका वढा नं. ९ को बेली जंगल नजिकबाट हतियार सहित पक्रेको थियो।

उनले दाजभाईबीच अंश सम्बन्धी विवाद रहेको स्वीकार गरेका छन्। ‘पहिला भाउजुलाई मार्ने प्रयास गर्‍यो, अनी बुवालाई पनि मार्‍यो, विस्तारै मलाई, धनगढीमा बसिरहेको दिदिको परिवार र आफ्नो ससुरालीका १८ जनालाई सुट गर्छु अनी अकिल्यै नेपाल नफर्किने गरी भारतमै बस्छु भनेर धम्काउदै ह्ड्थ्यिो’ जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका दिनेशले भने।

हुन त मृतक बिभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले पनि जनाएको छ । मृतक कुमार भगौडा कैदी पनि हुन्। कुमार २०६० असार १३ गते डाँकाचोरी मद्धामा पक्राउ परी कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा परेका थिए । उनी २०६१ साल माघ २७ गते तत्कालीन माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा भागेर फरार रहेको कैलाली कारागारले जनाएको छ।

दुई छोरासहित धेरैजसो भारतमै बस्ने कुमार बेलाबेला नेपालमा आएर विभिन्न घटना घटाएर उतै जाने गरेका परिवारजनले बताएका छन । केही महिना अघि आफ्नै श्रीमतीलाई भारतबाट ल्याएर बनबसामा चुन्नीको पासो बनाई झुन्ड्याएको अवस्थामा पुर्णागिरीको मेला भर्नेहरुले जोगाएको दिनेश बताए। त्यसपछि कुमारकी पत्नी अर्को पोईल गएकी छिन्।

‘कुमारले भाउजुलाई मार्ने प्रयास गर्‍यो, अनी बुवाले अंश सबैलाई बराबर हुन्छ भन्ने कुरामा बुवालाई मारेर २६ दिनपछि शव भेटियो, अहिले मैले सबै सम्पत्ती उसको नाममा नगरे मलाई पनि मार्छु भन्दै हिडिरहेको थियो । त्यसलाई देखेर ईष्टमीत्र परिवारका मानिसहरु त्रसित थिए, मैले पनि एकजनाले जेल बस्दैमा १८ जनाको ज्यान जोगिन्छ भने किन हत्या नगर्ने भन्ने सोचे’ उनले भने।

दिनेशले भारतबाट ५ हजारमा कुमारलाई मार्नकै लागि नलकटुवा पेस्तोल किनेर ल्याएको बताए।'मंगलबार पनि जिल्ला प्रहरी कार्यालय नजिकैको जग्गा आफ्नो छोराको नाममा हाल भनेर मालपोत लग्दै थियो, उसँग उसको साथी पनि थियो, हामी तरानगरमा रहेको दिदिको घरबाट खाना खाएर मालपोततिर लाग्यौं, अनी मैले उसलाई गोली हान्ने योजना मनमनै बनाएको थिए, तर उसको साथी पनि सँगै भएकाले कतै जोगाउन आएका बेला त्यो निर्दोशलाई गोली नलागोस भन्ने चिन्तामा थिए’ दिनेशले बयानमा भनेका छन्।

त्यसपछि कुमारले मोटरसाईकल चलायो म पछाडि बसेर मालपोततिर जादै थियौं, उसले छिटो मालपोतमा पुगाएर नाममा हालिहालु भन्ने ठानेर मोटरसाईकल कुदाई रहेको थियो, मैले हान्ने मौका पाईरहेको थिएन, मैले हातमा समातेको कागजात भएको फाईल सडकमा खसाए, अनी फाईल खस्यो, मोटरसाईकल रोक भने, कुमारले मोटरसाईकलको स्पीड कम गर्‍यो, अनी मैले मौका पाउने वित्तिकै गोली हानी दिए’ दिनेशले भने।

दिनेशलाई आफ्नो सहोदर दाजु मारेकोमा कुनै पछुतो छैन। न उनको अनुहारमा डर र ग्लानी नै थियो । ‘मलाई कुनै चिन्ता छैन, कानुनले तोकेको सजाय भोग्छु, मैले १८ जनाको ज्यान जोगाएको छु, धेरै आतंकित भएका मानिसहरु अब चैनका साथ सुत्छन’दुबै हातमा हत्कडी लगाएका उनले भने।

दिनेश भारतको रुद्रपुरमा बस्दै आएकाले उनले सरदारको भेष बनाएका छन । लामो समय त्यहाँ बसेकाले उनले सरदारको झैं पगडी बाँधेका थिए। भारतको रोडवेजमा चालक रहेको बताउने उनले, आपराधिक मानसिकताको दाजुको हत्या गरेकोमा आफुलाई सन्तुष्टि मिलेको बताए।

मृतकी दिदी सीता क्षेत्रीले पनि, सानैमा आमा गुमाएपछि कुमार चौविसै घण्टा हतियार बोकेर हिड्ने गरेको बताइन्। कुमारले धेरैलाई मारिदिने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा गएर उसको फोटो, भारतीय नम्बरको मोटरसाइकल नम्बर, नागरिकता नम्बर, र मोवाइल नम्बर दिएपनि प्रहरीले विगतमा भने कुनै वास्ता नगरेको दिदी सिताले आरोप लगाएकि छिन्।