दुःखद दुर्घटना...पहिरोमा पुरिएर २ जनाको मृत्यु २ जना घाइते

बुटवल-पाल्पा सडकखण्डको तल्लो सिद्धबाबामा पहिरोमा पुरिएको गाडी निकाल्दै प्रहरी । गुडिरहेको गाडी पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । तस्वीर : सीपी खनाल 





२ असार, भैरहवा । रुपन्देहीको सिद्धार्थ राजमार्गस्थित सिद्धबाबामा गुडिरहेको कार पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ । २ जनालाई प्रहरीले उद्धार गरेको छ ।
पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ज २७० नम्बरको सेतो निजी जिप्सी गाडीलाई अपरान्ह पाँच बजेतिर पहिरोले पुरेको थियो ।
गाडीमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको र २ जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । गाडीमा चार जना सवार थिए ।
मृतक  र घाइते सबै भारतीय नागरिक हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा लुम्बिनी मेडिकल कलेजमा कार्यरत चिकित्सक तरूण कोचर र यशोदा कोचर छन् ।
उद्धार गरिएकाहरुलाई उपचारका लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएको छ । सुक्खा पहिरोमा पुरिएको गाडीबाट शव निकाल्ने प्रयास जारी छ ।
बाटो बन्द
बुटवल तर्फ खसेको पहिरोले सडक पूर्णरुपमा अबरुद्ध भएको छ । पहिरोका कारण बुटवलबाट लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरुमा जाने र बुटवल फर्किने सवारी साधन बिचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास जारी छ ।
सिद्धार्थ राजमार्गको यो सडक हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, पोखरा, स्याङ्जा, बाग्लुङसम्म पुग्न सकिन्छ ।
बुटवलबाट पाल्पा जाने सिद्धबाबाको ढुंगे भिर र सडक भूकम्पले क्षति पुगेको थियो । बर्षा नलाग्दै पहिरो खस्ने क्रम सुरु भएपछि यो सडक भएर हिँड्नेहरु थप त्रसित भएका छन् । वर्षायाममा सिद्धबाबामा पहिरो खस्दा पटक पटक सडक अबरुद्ध हुने गरेको छ ।