पानी ओसार्नकै लागि भित्राइन्छ धेरै श्रीमती


patni (1)मानिसले दुखसुख सँगै बिताउने र सांसारिक चक्र धान्नका लागि बिहे गर्छन् । कतिपय समाजमा पुरुषका लागि एक भन्दा बढि श्रीमती भित्राउने छुट छ, धार्मिक वा सांस्कृतिक रुपमै । तर भारतको एउटा यस्तो गाउँ छ जहाँ पानीका कारण पुरुषहरु बहुपत्नी भित्राउन बाध्य छन् ।
भारतको महाराष्ट्रस्थित डेंगाँमाल गाउँ सायद दुनियामै एकमात्र यस्तो गाउँ हो जहाँ परिवारलाई पानी खुवाउनका लागि पुरुषहरुले धेरै श्रीमती भित्राउँछन् ।
गाउँको नजिक पानीको कुनै श्रोत नभएको र पहाडको फेँदीमा रहेका दुइवटा कुवाबाट पानी भरेर ल्याउनु पर्ने बाध्यता छ त्यो गाउँमा । निकै टाढाको कुवामा पुग्न पनि लामो समय लाग्ने र कुवामा पानी भर्ने पालो कुर्दा समेत धेरै नै समय बित्ने भएको हुँदा एक जनाले दिनमा एक दुइ गाग्रो भन्दा बढि पानी ल्याउन सम्भव हुँदैन ।
एक दुइ गाग्रो मात्र पानीले परिवारको घाँटी भिजाउन पनि सकिने अवस्था रहँदैन । त्यसैले पुरुषहरु धेरै महिलासँग बिहे गर्दछन् ता की उनीहरुले धेरै पानी ओसार्न सकुन् र घरमा पर्याप्त पानी होस् ।
मुम्बइ भन्दा ५० माइल टाढा पर्ने यो गाउँका स्थानीय साखराम भगत लगायतका थुप्रै पुरुषहरु ‘पानी श्रीमती’ का धनी छन् ।
६६ वर्षे साखरामका ३ श्रीमती छन्, साख्री, टुकी र भागी । उनीहरु तिनैजना दैनिक रुपमा पानी भर्न कुवामा जान्छन् र टाउकोमा सकेजति संख्यामा स्टिलका गाग्रो खप्टाएर पानी ओसार्छन् ।
साखरामले ३ वटी श्रीमती बिहे गर्नुको अरु कारण छैन । परिवारका लागि पिउन तथा खाना पकाउने लगायतका लागि पर्याप्त पानी पुगोस् भन्नकै लागि उनले ३ वटी श्रीमती भित्राएका हुन् ।
patni (2)
गाउँ नजिकैको खेतबारीमा दैनिक मजदुरी गर्ने साखराम भन्छन्, ‘परिवारको लागि पानी ओसार्न मलाई कोही न कोही आवश्यक थियो । र पटक पटक बिहे गर्नु यसको एकमात्र विकल्प रह्यो ।’
आफ्नी पहिलो श्रीमती बच्चा पाएपछि व्यस्त भएको र पानी ओसार्ने मानिस नभएपछि दोश्री श्रीमती बिहे गरेकेा उनी बताउँछन् । तर दोश्री श्रीमती पनि बिरामी परेर परिवार नै काकाकुल हुन थालेपछि तेश्री श्रीमती बिहे गरेको उनको दाबी छ ।
सोही गाउँका नामदेउ नामका पुरुषका पनि शिवर्ती र बागाबाइ नामका दुइ श्रीमती छन् ।
भारत सरकारका अनुसार महाराष्ट्रका १९ हजार भन्दा बढि गाउँमा खानेपानीको पहुँच छैन । महाराष्ट्र राज्यमा पछिल्लो दशकयता खडेरी समेत पर्ने गरेको छ र यो पटक पनि मनसुन औषत भन्दा कमजोर रहने विज्ञहरुले बताएका छन् ।
झण्डै १ सय वटा झुप्रेघर रहेको डेंगाँमाल गाउँ पनि पानी अभाव र खडेरीले सबैभन्दा प्रभावित गाउँमध्येको एक गाउँ हो । यो गाउँमा पानीकै लागि धेरै श्रीमती बिहे गर्ने चलन वर्षौँदेखि संस्कारकै रुपमा स्थापित भएको छ । साखरामका तिनवटी श्रीमती एउटै घरभित्र बस्दछन् ।
patni (4)
तर सुत्ने कोठा र भान्सा भने अलग अलग रहेको छ । सौता सौता पनि बाध्यताकै कारण होला निकै मिलीजुली बसेका छन् र एकप्रकारले खुसी छ परिवार ।
भारतको कानूनले बहुविवाह निषेध गरेको छ । तर पानीको अभावले पुरुषहरु ‘पानी श्रीमती’ जम्मा गर्न बाध्य छन् ।डेलीमेलबाट