अमेरिकामा गोली हानी हत्या गरिएकी समिरा शिवाकोटीको हत्यारालाई प्रहरीद्वारा पक्राउ

फोटो :समिराको हत्यामा संलग्न युवा
काठमाडौं : दुई नाबालककी आमा नेपाली महिला समिरा सिवाकोटीको हत्यामा संलग्न एक युवकलार्इ अमेरिकाको कोलोनीस्थित प्रहरीले पक्राउ गरेको छ ।

हत्यासहित विभिन्न चोरीमा घटनामा समेत संलग्न  डियोन दिवान किंगस्टोनलाई  कोलोनी पुलिस डिपार्टमेन्टले शनिबार पक्राउ गरेको हो ।
पक्राउ गरेपछि समिराको हत्याको घटनाबारे त्यहाँको प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको समाचार अमेरिकाबाट सञ्चालित हिमायलय खबर अनलाइनले जनाएको छ ।
घटनापछि विभिन्न सुराकका आधारमा हत्यारालार्इ पक्राउ गर्न सकिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाविवरण सार्वजनिक गरेपछि समिराको हत्या गरेको औपचारिक आरोपसहित अदालतमा मुद्धाप्रक्रिया अघि बढाएको छ ।

समिराका परिवारले चलाउँदै आएको र्‍यापिडो स्टोरमा लुटपाट गरेपछि ती युवाले उनीमाथि गोली हानेका थिए । टाउको हानिएको गोली लागेर समिराको तत्कालै ज्यान गएको थियो ।

समिराका हत्यारा पक्राउ परेपछि उनका पति नवराज सिवाकोटीले पत्नीको आत्माले शान्ति पाउने प्रतिक्रिया दिए ।

समिराको हत्यापछि  किंगस्टोन छिमेकमा लुकेका पाइएको छ । समिराको हत्याराबारेमा सूचना दिनेलाई अमेरिकन प्रहरीले १० हजार डलर पुरस्कार घोषणा गरेको थियो ।
त्यहाँस्थित प्रहरीले हत्यारा पक्राउ गर्न एफबीआई र अन्य जासुसी संयन्त्र र छिमेकी राज्यका प्रहरीसँग पनि सहयोग मागेको थियो ।

समिराको गत जेठ २८ गते हत्या भएको थियो । प्रहरीले समिराको हत्यामा संलग्न युवक समातिएको जानकारी उनको परिवारलार्इ शनिबारै दिइसकेको छ ।