वैज्ञानिक भन्छन्- पृथ्वीमा छैटौँ महाप्रलय सुरु हुने सबैभन्दा बढी मानव जीवन समाप्त हुने खतरामा

earth६ असार, काठमाडाै । पृथ्वीमा महाप्रलयको नयाँ युग सुरु भएको वैज्ञानिकहरुले बताएका छन् । मानव जातिको अस्तित्वमै खतरा उत्पन्न गराउने आम विलोपनको युगमा प्रवेश गरिएको घोषणा शोधकर्ताहरुले दाबी गरेका हुन् ।
शोधकर्ताहरु भन्छन्, ‘हामीहरु पृथ्वीमा हुने छैटौँ आम विलोपन युगमा प्रवेश गर्दैछौँ र यसमा कुनै शंका छैन।’ वैज्ञानिकहरुका अनुसार संकटापन्न प्रजातिहरुको संरक्षणको ढोका तिव्र गतिमा बन्द भैरहेको छ ।

स्टानफोर्ड उड्स इन्स्टिच्यूट फर इन्भारोमेन्टका प्राध्यापक समेत रहेका शोधकर्ता टोलीका प्रमुख पाउल इर्लिचले पृथ्वीमा मास एक्स्िटन्सन (आम विलोपन) को छैठाैं संस्करण सुरु भएको दाबी गरेका छन् ।
साइन्स एडभान्सेस जर्नलमा छापिएको शोध अनुसार यो आम विलोपनको समयमा पृथ्वीमा भएका प्रजातिहरु सामान्य भन्दा १ सय गुणा तिब्र गतिमा लोप हुँदै जान्छन् ।
अर्का शोधकर्ता तथा अटोनोमा युनिभर्सिटी मेक्सिकोका प्राध्यापक गेरार्डो सेबालोसका अनुसार यदि यो विलोपनले निरन्तरता पाइरह्यो भने पृथ्वीमा फेरि जीवहरु पुनस्र्थापित हुन करोडौँ वर्ष लाग्छ र मानिस पनि छिट्टै नै लोप हुने खतरा रहन्छ ।
जीवाशेषहरुको अनुसन्धान तथा ऐतिहासिक तथ्यहरुको विश्लेषणका आधारमा शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
विश्वका लोपोन्मुख तथा संकटापन्न प्रजातिहरुको तथ्यांक राख्ने संगठन आइयुसीएनका अनुसार पृथ्वीका ४१ प्रतिशत उभयचर तथा २६ प्रतिशत स्तनधारी जनावरहरु लोप हुने खतरामा पुगेका छन् ।
यसरी प्रजातिहरु लोप हुँदै जाँदा पृथ्वीको अत्यावश्यकीय पर्यावरण चक्र खल्बलिने र त्यसले अन्य प्रजातिहरुको समेत अस्तित्व खतरामा पार्दछ । जस्तै माहुरीहरु लोप भई बालीनालीको परागशेचन कार्य कम हुँदा खाद्यान्न उत्पादन घट्छ र यसले मानवजातिको अस्तित्वमै खतरा उत्पन्न गराउँछ ।
अहिलेको प्रजातिको विलोपन दरका आधारमा मानिसले आगामी तीन पुस्ताभित्रै जैविक विविधताबाट प्राप्त हुने विभिन्न लाभहरु गुमाउने अवस्था रहेको शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ता इर्लिचका अनुसार हामीले आफ्नै खुट्टामा बन्चरो हानिरहेका छौँ । शोधकर्ताहरुका अनुसार विश्वमा औद्योगिक क्रान्तिपछि जैविक विविधताको विनाश अत्यन्तै उच्च गतिमा भैरहेको छ ।
सन् १८०० देखि सन् १९०० को अवधिमा १ सय ४४ प्रजातिका ढाड भएको जीवको विनाश भएकोमा सन् १९०० पछि सन् २०१० को अवधिसम्म ३ सय ९६ प्रजातिका ढाड भएका जीव लोप भएका छन् ।
कहिले-कहिले भए महाप्रलय ?
वैज्ञानिकहरुका अनुसार पृथ्वीको इतिहासमा यसअघि झण्डै समग्र जैविक विविधता नष्ट हुने गरी ५ वटा आम प्रलय तथा आम विलोपन भैसकेका छन् ।
chart
पहिलो आम विलोपन ४४ करोड वर्षअघि अर्डोभिसियन कालमा भएको थियो । त्यतिबेला पृथ्वीमा रहेका प्रजातिहरु सबै जलचर थिए र तीमध्ये ८५ प्रतिशत लोप भएका थिए ।
डेभोनियन कालको अन्त्यतिर आजभन्दा ३५ करोड ९० लाख देखि ३७ करोड ५० लाख वर्षको बीचमा अर्को आम विलोपन भएको थियो । यसले लगभग सबैजसो जलचर प्रजातिहरुको विनाश गराएको थियो । त्यसपछिको १० करोड वर्षसम्म कुनै पनि सामुदि्रक मुगा जीवको विकास भएन ।
तेस्रो आम विलोपन आजभन्दा २५ करोड २० लाख वर्ष पहिले भएको थियो । यो पृथ्वीमा भएको अहिलेसम्मकै भयानक प्रलय हो । त्यसबेला पृथ्वीमा भएकामध्ये ९७ प्रतिशत जैविक विविधता लोप भएको थियो, सधैंका लागि ।
ट्रायासिक कालको अन्त्यतिर आजभन्दा २० करोड १० लाख वर्षपहिले भएको आम विलोपन पृथ्वीमा भएको चौथो आम विलोपन हो ।
पृथ्वीमा भएको अहिलेसम्मको पछिल्लो आम विलोपन आजभन्दा ६ करोड ६० लाख वर्ष पहिले क्रेटासियस कालको अन्त्यतिर भएको मानिन्छ । यो महाप्रलय तथा आम विलोपनलाई डाइनोसर युगको समाप्तिको रुपमा पनि लिइन्छ । त्यस क्रममा डाइनोसर लगायतका त्यसबेलाका अधिकांश जीव तथा वनस्पति लोप भएकाे डेलिमेलकाे खबरमा उल्लेख छ ।