भूकम्पका कारण जमिन भास्सिन थालेपछि स्थानीयवासी त्रसित

फोटो :फाइल फोटो
खोटाङ : भूकम्पका कारण जमिन भास्सिन थालेपछि जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् । 
 
बस्तीदेखि सात/आठ सय मिटर तलबाट जमिन भास्सिन थालेपछि उक्त बस्तीका स्थानीयवासी त्रसित बनेको शारदा उच्चमावि खार्पाका शिक्षक वसन्तराज पोखरेलले बताए । 
 
उनले भने  – “वैशाख १२ गतेको भूकम्पपछि धाँजा फाटेको उक्त जमिन कुन बेला बग्ने हो टुङ्गो छैन, अहिले दुई मिटरभन्दा बढी फाटिसकेको छ ।” नेवार बस्ती रहेको उक्त जमिन भास्सिन थालेपछि अध्ययनका लागि प्राविधिक टोली खटाइएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए । 
 
उनले भने  – “यो सङ्कटपूर्ण अवस्था हो, कहाँ कुन बेला के हुन्छ थाहा हुँदैन, त्यसैले सबैले सजगता अपनाउनुपर्ने अवस्था आएको छ ।” जमिन भास्सिन थालेपछि स्थानीयवासीले अध्ययनका लागि टोली पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको छ । उक्त पत्रका आधारमा भू–संरक्षण कार्यालयका प्रमुखको नेतृत्वमा प्राविधिक टोली खटाइएको प्रजिअ सापकोटाको भनाइ छ । 
 
जमिन भास्सिएपछि जुकेखोला गाउँमा खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको एकीकृत नेकपा माओवादी खार्पाका सचिव राजन मगरले जानकारी दिए । 
 
मगरका अनुसार वडा नं ८ र ९ का करिब ८० घरपरिवारले उपभोग गर्ने खानेपानीको मुहानमा क्षति पुगेपछि पानी आउन छाडेको छ । जमिन चिराचिरा परेर भास्सिन थालेपछि त्यस क्षेत्रमा गाडिएका तीनवटा बिजुलीको खम्बासमेत भास्सिएको जनाइएको छ । बिजुलीको खम्बा भास्सिएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ । 
 
वर्षा सुरु नहुँदै जमिन भास्सिएपछि अर्खौले, खार्पा हुँदै एेंसेलुखर्कसम्मको कच्ची सडकमार्गसमेत अवरुद्ध बनेको स्थानीयवासीले जनाएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासी पैदलयात्रा गर्न बाध्य भएका छन् ।