होसियार, धेरै पानी पिउँदा ज्यानै जानसक्छ
दिनमा ६ देखि ८ गिलासम्म पानी पिउनु स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ र यसले दिमागी एकाग्रता बढाउन, सरीरमा उर्जा बढाउन, टाउको दुख्ने समस्या दूर गर्न, सरीरभित्रको विषाक्त पदार्थ निर्मलीकरण गर्न तथा भोक नियन्त्रण गर्न समेत सहयोग गर्ने कुरा हामीलाई थाहै छ । त्यसैले हामीले सकेसम्म धेरै पानी पिउने कोसिस गर्छौँ र हिँड्दा पनि पानीको बोतल बोक्न बिर्सिँदैनौँ ।
तर हालैको एक अध्ययनले भने धेरै पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक नभएको र आवश्यकता भन्दा धेरै पानी पिउनाले उल्टै विभिन्न खाले बेफाइदा गर्ने तथ्य पत्ता लगाएको छ । साथै यसअघि भनिँदै आएको दैनिक डेढ देखि २ लिटर पानी सरीरका लागि बढि हुने दाबी समेत शोधकर्ताहरुले गरेका छन् ।
हाम्रो बढि पानी पिउने लतले स्वास्थ्यमा असर पूराउने मात्र होइन कहिलेकाहीँ जिवनमाथि नै खतरा उत्पन्न गराउने खाले स्वास्थ्य समस्या निम्ताउन सक्ने चेतावनी विज्ञहरुको रहेको छ ।
बेलायतको लण्डनस्थित दी व्हिट्ली क्लिनिकका संस्थापक समेत रहेका विशेषज्ञ शल्यचिकित्सक तथा बढि पसिना आउने समस्या अर्थात् हाइपरहाइड्रोसिस विज्ञ प्राध्यापक डाक्टर मार्क व्हिट्लीका अनुसार बढि पानी पिउने मानिसहरुमा बढि पसिना निस्किने समस्या हुन्छ । धेरै पसिना निस्किने समस्या भएका मानिसहरुको उपचारका लागि पसिना ग्रन्थी नै शल्यक्रिया गरी काटेर फ्याँक्नुपर्ने उनको अनुभव रहेको डेलीमेलले उल्लेख गरेको छ ।
खासगरी रातको समय अर्थात् सुत्नेबेलामा बढि पानी पिउनु समेत हानीकारक हुन्छ । सुत्ने बेलामा बढि पानी पिउँदा त्यसले निद्रामा असर पूराउँछ । त्यसैले सुत्नुभन्दा २-३ घण्टा अगाडिसम्म मात्र पानी वा कुनै झोलिलो पदार्थ पिउनु पर्छ । सुत्ने बेलामै पानी पिउनु राम्रो हुँदैन ।
सन् २००८ मा बेलायतकी एक महिलाले बढि पानी पिएकै कारण ज्यान गुमाएकी थिइन् । ४० वर्षकी ज्याकलिन हेल्सन नामकी ती महिलाले सरीरको वजन घटाउने नाममा केही घण्टाको अन्तरमै ४ लिटर पानी पिउने गर्थिन् । यसका कारण उनको सरीरमा पानीको विषाक्तीकरण भयो र उनको ज्यान गयो । अत्यधिक बढि पानी पिउनाले सरीमा लवणको असन्तुलन हुने, मृगौलामा बढि भार थपिने हुन्छ । यसका साथै कोषहरुमा भन्दा रगतमा आवश्यकता भन्दा कम लवण भएको खण्डमा मस्तिष्कको कोषिकाहरु फुलिन्छ । यसले टाउको दुख्ने र कतिपय अवस्थामा कोषिकाहरु फुटेर मानिसको ज्यानै जाने खतरा हुन्छ । यसलाई वाटर इन्टक्सिकेसन अर्थात् हाइपोन्याट्रेमिया भनिन्छ ।
कति पानी पिउनु आवश्यक ?
विज्ञहरुको नयाँ मत अनुसार दिनको २-४ लिटर पानी मात्र पिउनु स्वास्थ्यका लागि उल्टै हानिकारक हुन्छ । पानी मात्र नभै अन्य तरल पदार्थ समेत गरी महिलाको हकमा दिनको १.६ लिटर तथा पुरुषको हकमा दुइ लिटर पानीजन्य तरल पदार्थ सरीरका लागि पर्याप्त हुन्छ । यस्तोमा शुद्ध पानी मात्र नभै चिया, कफी, दुध, जुस, सागपात वा फलफूलमा हुने पानीको मात्रा समेत गणना हुन्छ ।