संविधानका लागि प्रचण्ड विष पिउन तयार
पोखरा: एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधानसभाबाट सहमतिमा संविधान बनाउनका लागि आफू विष पिउन पनि तयार रहेको बताएका छन्।
संविधानसभा आफूहरूको एजेन्डा भएकोले यसलाई निश्कर्षमा पु:याउन आफूजस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताउँदै उनले भने, 'संविधानका लागि म विष पिउन पनि तयार छु।'
कास्कीको २३ औं जिल्ला परिषद्को उद्घाटन गर्दै उनले भने 'विपीमाथि र मदन भण्डारीमाथि जे भयो, त्यो म माथि पनि हुन्छ, हुन्छ । तपाईहरुले हाम्रो मान्छेमाथि खतरा आयो भनेर बचाए भने सुरक्षा हुन्छ । नत्र हामीलाई भगवानले पनि बचाउन सक्दैन।'
नेपालमा असल काम गर्नेलाई समाप्त पारिएको इतिहास सम्झदै उनले भने, 'जतिसुकै जोखिम मलेर भएपनि जनताको संविधान बन्छ।' आफु सधै जनतालाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै उनले नेताको सुरक्षा गर्न जनतालाई आव्हान गरे।
'म, हाम्रो पार्टी जसरी पनि संविधान बनाउने पक्षमा छ। अलिकति दाह किटेर माग राख्दा राम्रो संविधान बन्छ।' 'सेना समायोजन र गणतन्त्र पनि धेरैलाई मन परेको थिएन। सबैको प्यारो बन्न नसक्दा माओवादी फुटेको हो, उनले भने 'एकातिर सहमतिवाट र अर्कोतिर प्रकृयावाट संविधान बनाउनुपर्छ भन्ने द्वन्द चलिरहेको छ।
जे गरे पनि सुख छैन सहमति गरौ भोलिपल्टदेखि गद्दारी गरेर मुद्दा छोडयो भन्छन्। अर्कोतिर देश विखण्डन हुने खतरा पनि देखेको छु ।'
करिब ४० मिनेट लामो मन्तव्यमा उनले नेपालमा राम्रो काम गर्नेहरुको भलो नभएको चर्चा गर्दै राम्रो काम गर्न खोज्दा आफुमाथि खतरा आइरहेको आंशका व्यक्त गरे। 'उतिवेला भीम मल्लले तिव्वतमा भोटेहरुलाई पराजित गरे ।
राजालाई गएर सुनाउछु भनेर आउँदा राजाले गेटमा दुई टुक्रा पारिदिए । त्यतिवेलादेखि यो देशमा राम्रो गर्नेको भलो नहोस भनेर सतिले सराप दिएको पढिन्छ,' उनले भने 'विपी कोईराला क्रान्तिकारी हुनुहुँदोरहेछ ।
पन्ध्र सालमा चुनाव त जित्नुभयो । तर दुई वर्ष नहुदै निर्वासनमा पर्नुभयो । त्यस्तै त्यस्तै कारणले म पनि प्रधानमन्त्रीवाट हट्नुपयो ।'उनले मदन भण्ढारी जल्दोवल्दो युवा भएको र राम्रो गर्दा गर्दै सकिन परेको बताए ।
उनले १२ बुँदे शान्ति सम्झौतासम्म आइपुग्दा गिरीजाप्रसाद कोइराला र आफु नायक भएको दावी गर्दै अहिले गिरिजा नभएकोले संविधान जारी गर्न आफ्नो मुख्य जिम्मेवारी रहेको वताए ।
उनले द्वन्दग्रस्त ईतिहास हेर्दा विचमा शान्ति भएपनि धेरै ठाउँमा फेरि द्वन्द वल्झिएको भेटिएपनि नेपालमा स्थायी शान्ति र विकास ल्याउन आफु प्रतिवद्व रहेको वताए ।
'संविधान बन्छ र बनाउनुपर्छ । शान्ति प्रकृयामा हस्ताक्षर गरिए जसरी नेतृत्व गर्नेहरुले सामूहिक भूमिका खेल्नुपर्छ' उनले भने 'तर माओवादी, जनजाति र मधेशवादी दलहरुलाई वाहिर राखेर संविधान वन्न सक्दैन । बने पनि मान्य हुदैन । देश भड्खालोमा जान्छ ।'
नेपालमा संविधान वन्न नदिन स्वदेशी र विदेशी शक्तिको चलखेल जारी रहेको वताउँदै उनले जातिय विभेदको अन्त्य, वहुजाति, भाषा, संस्कृति र भूगोल झल्किने संविधान वनेमा मात्र स्थायी शान्ति कायम हुने धारणा राखे ।
कास्कीमा आउनुअघि प्रधानमन्त्री सुशिल कोईराला र एमाले नेता माधवकुमार नेपालसँग न्यायपालिका, निर्वाचन प्रणालि, शाषकिय स्वरुपका विषयमा बार्ता भएको जानकारी दिदै प्रधानमन्त्रीले विपक्षीको भावना नवुझेको महसुस गरेका वताए ।
आफुहरु सधै उत्पीडित जनजातिको पक्षमा रहेको तर कहिल्यैपनि एकलजातिय पक्षमा नरहेको उनले वताए । 'दोस्रो संविधान सभाको चुनावमा काठमाडौंका नेवारहरुले वाहुन भनेर मत दिएनन, वाहुन, क्षेत्रीहरुले नेवा राज्य भनेको छ भनेर भोट दिएनन,' उनले भने 'हामी जातिय राज्यको पक्षमा कहिल्यै पनि थिएनौ । अहिले पनि छैनौ । जनताले आत्मनिर्णयको अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग हो । यो कुरा जनताले वुझ्नुप-यो ।'
उनले अघिल्लो र पछिल्लो संविधान सभामा एमाले र कांग्रेसले भाँजो हालेका कारण धेरै विषयमा सहमति भएपनि संविधान जारी हुन नसकेको आरोप लगाए ।
वुधवार अपरान्ह् जहाजवाट काठमाडौं फर्कने कार्यक्रम तय गरिएपनि साँझ साडे पाँच वजे कार्यक्रम सकिएको थियो । उनको सुरक्षाको लागि कार्यक्रमस्थल जिल्ला विकास समितिको परिसर र स्कर्टिङ्गमा नेपाल प्रहरी, शशस्त्र प्रहरी वलको टोलि खटाईएको थियो ।
प्रचण्डको सुरक्षाको लागि विशेष ध्यान दिईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक हरिवहादुर पालले वताए । 'कडा सुरक्षा व्यवस्था गरेका थियौं,' उनले भने 'साँझ मोटरवाटोवाट काठमाडौं जान लाग्दा पनि विशेष व्यवस्था गरिएको छ ।'
सुरक्षाकर्मीहरुले सुरुमा माथिको आदेश भन्दै पत्रकारहरुलाई हलमा जान रोक लगाएका थिए । त्यसको विरोध गर्दै पत्रकारहरुको दवावपछि प्रवेश पाएका थिए ।