अन्जु पन्तका पूर्व पति तथा संगीतकार मनोजराज भन्छन्, ‘प्रहरीले भ्यानमा राखेर गीत गाउन लग्यो’ -
मनोजराज ०५१ सालमा पहिलोपटक रेडियो नेपाल स्टुडियोमा पसेका थिए । उनले रेडियो नेपालमा हुने आधुनिक गायन प्रतियोगिता भाग लिए, ०५३ मा । जसमा उनी टपटेनभित्र परेका थिए । उदयपुर कटारीका मनोजराज सानैदेखि जुहारीमा टुक्का मिलाउन माहिर थिए । उनी गाउँमा टुक्का मिलाएरै चर्चित थिए । लाहानको सिरहाबाट माध्यमिक शिक्षा पूरा गरी मनोजराज काठमाडौं आए । र, गुरुदेव कामदलाई गुरु बनाए । पहिलोपटकको भेटमै उनले गीत सुनाएर गुरुदेव कामदको मन जितेका थिए । ‘तर, पहिलो गुरु मेरी आमा हुनुहुन्छ,’ मनोजराज भन्छन्, ‘मेरी आमा निकै मीठो गाउनुहुन्छ । अनौठो त उहाँले बाँसुरी पनि बजाउनुहुन्थ्यो ।’
मनोराजका स्वर र संगीत रहेका थुप्रै गीत सफल छन् । त्यसमध्येको उनको स्वर रहेको पछिल्लो चर्चित गीत हो, पानीको फोकाजस्तै । उनै गायक तथा संगीतकार मनोजराजसँग सुजन पन्त र मिङमार ग्याल्पो लामाले गरेको कुराकानी:
संगीतप्रति कसरी मन गयो ?
मेरी आमा असाध्यै मीठो गाउनुहुन्छ । त्यसकारण पनि मेरो सानैदेखि संगीतप्रति झुकाव भयो । घरमा आमा नै मीठो गाउनुहुन्छ भने, के चाहियो ? मेरो पहिलो गुरु मेरी आमा हुनुहुन्छ । अनौठो त, मेरी आमा बाँसुरी बजाउनुहुन्थ्यो । हाम्रो समाजमा नारीले बाँसुरी बजाउँदैनन् । मलाई आमाले नै हो बाँसुरी बजाउन सिकाएको ।
हाम्रो घरमा मादल पनि थियो । मैले सानैदेखि मादल बजाउँथे । अरुले बजाएको हेरेरै मादल बजाउन सिकेको हुँ । त्यति बेला रेडियो नेपालमा बज्ने प्रायः गीतमा मादल हुन्थ्यो । मैले रेडियोमा बज्ने मादलको ताललाई ध्यान दिएर सुन्थेँ र सिक्थेँ । गाउँमा पूजापाठ र अनेक उत्सव भइरहन्थ्यो । देउसी–भैलो खेलिन्थ्यो । त्यस्तो बेला मादल बजाउन म नै अघि सर्थें ।
गाउँमा हुने रंगरमाइलोमा रातभर बसेर जुहारी खेलिन्थ्यो । हाम्रोतिर केटाकेटी सवाल जवाफ गरेर जुहारी गाउने चलन छ । मचाहिँ टुक्का जोड्न माहिर थिएँ । टुक्का जोड्न सिपालु भएकाले पनि मलाई तानातान हुन्थ्यो । जुहारीमा म भएको टिमले प्रायः सधैँ जित्थ्यो । त्यसैले म सानैदेखि गाउँमा सबैको प्यारो पनि भएँ । त्यसैले पनि मलाई संगीतप्रति झुकाव भयो ।
अहिले कुन गीत गर्दै हुनुहुन्छ ?
बजारमा आएको मेरो पछिल्लो गीत राजाराम शिवकोटीको ढाँटी–ढाँटी बैगुनीले बोलको गीत हो । गीत राम्रो बनेको छ । श्रोताले पनि मन पराएको पाएको छु । राम्रै प्रतिक्रिया पाइरहेको छु ।
एउटा एल्बमको तयारीमा छु । जसमा चारवटा गीत रहनेछन् । सबै काम लगभग सकिएको छ । चारवटा फरक–फरक प्याटर्नको गीत छन् । यो एल्बम छिटै रिलिज गर्छु ।
गीत गाउँदा र संगीत भर्दा शब्द चयन गर्नु हुन्छ कि हुँदैन ?
प्रोफेसनल सिंगिङमा चाहिँ शब्द त्यति चयन गर्दिनँ । अरुको गीत पारिश्रमिक लिएर गाउँदा हस्तक्षेप गर्ने भन्ने हुँदैन । अझ त्यसमाथि अचेल प्रायः गीतमा गीतकारकै लगानी हुन्छ । त्यो एल्बम न गायकको हुन्छ, न त संगीतकारको । एल्बमको निर्माता नै गीतकार हुन सक्छन् । यस्तो अवस्थामा यो भएन, त्यो भएन भन्न मिल्दैन । पेसागत कुरा पनि भयो । पारिश्रमिकमा कुरा मिल्यो भने गाइन्छ । फेरि पनि अति नै भल्गर शब्द छ भने चेन्ज गर्न भन्छु । अनि, शब्दमा केही कमीकमजोरी छ भने, बसेर सल्लाह पनि हुन्छ । कति गीतकारले शब्द परिवर्तन गर्न मान्छन्, कतिले मान्दैनन् ।
शब्दलाई लिएर कुनै त्यस्तो नाम चलेको गीतकारको गीत अस्वीकार गर्नुभएको छ ?
अहिलेसम्म छैन । जुनैखाले गीत भए पनि गाउने हाम्रो दायित्व र धर्म हो । अघि नै भनेँ, अति नै भल्गर र मासमा लैजानै नमिल्ने खालको गीत भयो भने सोच्नुपर्ने हुन्छ । अहिलेसम्म त्यसरी सोच्नुपर्ने भएको छैन ।
‘पानीको फोका’ गाउँदाको रमाइलो वा असहज क्षण छ कि ?
यो गीत गाउँदा रमाइलो घटना छ । त्यतिबेला म सिङगिङ आइकन भन्ने प्रोग्राममा जज थिएँ । अलिअलि व्यस्त नै थिएँ । यो गीतका गीतकार राजुबाबु श्रेष्ठसँग चोट खाँदाखाँदै बोलको गीत गरिसकेको थिएँ । राजबाबुलदाइले अर्को गीत गर्न भन्दै हुनुहुन्थ्यो । उहाँले एकाएक फोन गर्नुभयो र भन्नुभयो, ‘कहाँ छौ भाइ ?’
मैले अफिसमै भएको बताएँ । दाइले भन्नुभयो, ‘तिमीलाई लिन पुलिस पठाएको छु । तल झर ।’ मैले जिस्केको जस्तो मानेँ । बाहिर हेर्दा साँच्चिकै पुलिसको भ्यान थियो । भ्यानभित्र दाइ हुनुहुन्थ्यो । दाइ त्यति बेला डिएसपी हुनुहुन्थ्यो, अहिले एसपी भइसक्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘तिमीलाई पक्रेर अब गीत गाउन लगाउनुप¥यो ।’ उहाँले मलाई गीत देखाउनुभयो । मैले अड्को थापेँ, यो गीत गाउँदिनँ भनेर । उहाँले अचम्म मान्नुभो । मैले फेरि भनेँ, ‘यो गीत अति नै राम्रो छ, मेरो एल्बममा राख्न दिने भए मात्रै गाउँछु ।’
उहाँले मेरो कुरा मान्नुभयो । गीतले पनि सोचेजस्तै सफलता पायो ।
अहिलेको नेपाली सांगीतिक क्षेत्र कस्तो पाउनुभएको छ ?
अहिले नेपाली सांगीतिक क्षेत्र ठीकै छ । विगत चार वर्षदेखि डिजिटलाइज भएको छ । पछिल्लो दशक नेपाली संगीत क्षेत्रमा पश्चिमेली गीतले बजार लियो, खासगरी लोकदोहोरी गीतले । १५–२० वर्षअघि पूर्वेली संगीतको बजार थियो । त्यतिबेला पूर्वबाट पूर्वेली भाका काठमाडौं ल्याइन्थ्यो । त्यसको लगत्तै पश्चिमेली भाका आयो । पश्चिमेली लोकदोहोरी गीतले बजार लियो ।
अहिले नेपाली क्षेत्रमा विभिन्न जमात छ । कोही संगीत सिकेर, बुझेर संगीतमा केही गर्न चाहन्छन् । कोही सोखका लागि पनि संगीत क्षेत्रमा आइरहेका छन् । कतिपय व्यापारी, आर्मी, पुलिसले पनि संगीतमा केही गर्न खोजेका छन् । कोही पैसावाला वा धेरथोर पैसा कमाएर पनि यसो एउटा एल्बम निकालौँ न त भनेर लाग्ने पनि छन् । यसो हुँदा संगीतको ज्ञान लिएर संगीतमा लाग्नेभन्दा सोखले लाग्ने कम भएनन् । सँगसँगै संगीत सिकेर लाग्नेहरु पनि छन् । अर्कोतिर राम्रो गीत लेख्नेहरु पनि संगीतमा लगानी गर्न अग्रसर छन् ।
त्यसैले राम्रा गीत पनि आइरहेका छन् । अर्कोतिर, राम्रो गीतभन्दा पनि बजारमा चल्ने गीत बनाउनेहरु हाबी छन् ।
एउटा गीतमा खासगरी संगीतकारको देन बढी हुनुपर्छ । संगीतकारले एउटा पर्फेक्ट लय, तालमा संगीत गरेको हुनुपर्छ । तर, नेपालमा के हुन्छ भने, स्टुडियोमा संगीतकारले गायकगायिकालाई आफैँ मिलाएर गाउनुस् भनिन्छ । एउटा गायकले आठ–दशवटा गीत मिलाएर गाउन थाल्यो भने, एकै प्रकारको बन्न पुग्छ । यसैले नेपाली गीत अलि मोनोटोनस लाग्ने खालका पनि बन्न पुगेका छन् । गीतमा त संगीतकार निर्देशक हुनुपर्छ । उसले कहाँ, कसरी गाउने ? कुन स्वर, तालमा गाउने ? भनी एउटा संगीतकार स्पष्ट हुनुपर्छ । तर, हाम्रोमा कतिपय अवस्थामा यो छैन । यसले नेपाली संगीतको क्वालिटी खस्किएको छ ।
अर्कोतिर मिडियाको भूमिका हुन्छ । किनभने, उसले राम्रो गीत बजाउँदैन, हिट गीत बजाउँछ । अनि, जोसँग पैसा छ, जसले मार्केटिङमा खर्च गर्न सक्छ, रेडियो–टिभीमा धेरै समय किन्न सक्छ, जसको मिडियासँग सम्बन्ध राम्रो बनाउन सक्छ, उसैको मात्र गीत बज्ने अवस्था पनि छ । यसो हुँदा राम्रो गीत श्रोतासम्म नपुग्ने अवस्थामा पनि छ ।
अर्कोतिर साधना, मेहनत भन्ने पनि छायामा छ अहिले । ताल परे एकै दिनमा गीत लेखिन्छ, संगीत गरिन्छ र गाइन्छ पनि । कम्तीमा एउटा गीतमा दुई–चार महिना मेहनत गरे राम्रो बन्न सक्थ्यो । अहिले अहिले संगीतको बजार पनि छैन । सिआरबिटी बन्द छ, पिआरबिटीबाट एकदम कम पैसा आउँछ । त्यो पैसा पनि भाग लगाउँदै आउँदा प्रमुख सर्जकको हातमै पुग्दैन । समग्रमा यस्तै छ नेपाली संगीत । तर, आशा गरौँ राम्रो हुने ।