भूकम्प पीडितको सहयोगका लागि धुर्मुसले घर बेच्ने

जेठ ३२ , सँधैंजसो टेलिफिल्मको छायांकनमा व्यस्त हुने हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकार सीताराम कट्टेल (धुर्मुस) वैशाख १२ को भूकम्पपछि कहिले कुटो, कोदालो लिएर नुवाकोट त कहिले त्रिपाल लिएर काभ्रे पुगे । महाविपत्तिमा परी जनधन गुमाउने परिवारहरुको राहत वितरणका लागि धुर्मुस विभिन्न संघसंस्था गुहार्दै हिँडिरहेका छन् । उनै धुर्मुससँग हामीले कुराकानी गरेका छौं ।

वैशाख १२ गते भूकम्प गएका बेला कहाँ हुनुहुन्थ्यो ?

भूकम्प गएका बेला अमेरिकाको सेन्टलुइस शहरमा कार्यक्रम सकेर सुतिसक्या थियौं । सुतेको एकघण्टा पछाडि अस्ट्रेलियाबाट कुञ्जना (सुन्तली) को ठूली आमाको छोरीले नेपालमा ठूलो भूकम्प गयो रे भनेर फोन गरिन अनि एकदमै पीडा भयो । नेपाल एक हप्तापछि आयौं । नेपाल आएकै दिनबाट भूकम्प पीडितको सहयोगका लागि राहत सामग्री लिएर प्रभावित क्षेत्रमा गयौं ।

त्यसपछिको दैनिकी कस्तो भयो ?

हामी बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ननस्टप काम गर्थ्यौं । खाल्डोमा छिर्ने, गाह्रो लाउने, ढुंगा बोक्ने, सिमेन्ट बोक्ने, माटो मुछ्ने, जे जे हुन्छ सबै गर्ने, घर बनाउने क्रममा गर्नुपर्ने सबै काम गरियो । जानियो पनि । दैनिकी भन्नुपर्दा, हरेक पल पीडितसँग नै, अहिले पनि दिमागमा, आँखामा यादहरु झलझली नै छन्, राहत वितरण गरेर पनि बेलुकी आइपुग्ने, बिहान हिँडीहाल्ने, त्यस्तो प्रकारको भयो । लगभग डेढ महिना भयो वस्तीमै छ,ु वस्तीमै बसेको छु । हरेक घरका चुला थाहा भए, हरेक गाँउका मान्छेका चाहना, इच्छा र भावनाहरु यथार्थ रुपमा थाहा पाएँ ।

उद्धार र राहतको लागि कुन कुन ठाँउ पुग्नुभयो ?

हामी नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, र धादिङमा पहिलो चरणको राहत वितरणका क्रममा पुग्यौं । पहिलो चरणको राहतमा हामीले त्रिपाल, म्याट, चामल, दाल, चिउरा, चना जस्ता सामग्रीहरु वितरण ग¥यौ । यी सामाग्रीहरु हामीले वास्तविक पीडित पहिचान गरेर वितरण गर्यौं । एक हप्ता बितिसक्दा पनि कतिपय जिल्लामा सरकारको टोली पनि नपुगेको, राजनीतिक दलका कुनै पनि प्रतिनिधिहरु नपुगेको अवस्थामा हामी पुगेका थियौं । त्यस्तै गोरखाको घ्यालचोक, धादिङको नौबिसे भन्दा माथिको एक चेपाङ गाउँ, नुवाकोटको ओखरपौवा लगायतका गाउँमा गइयो र हामीलाई कुन गाउँभन्दा पनि तत्काल के लिएर जाने भन्ने कुरा महत्वपूर्ण लाग्यो ।
कति वटा त्रिपाल बाँड्नुभयो ?

हामीले ७/८ सयको हाराहरीमा वितरण गर्‍यौं र भूकम्प पीडितलाई सहयोग गर्ने भनेर १६ लाख ५० हजार रुपैयाँ घोषणा गरेका थियौं । त्यसमा विभिन्न देशमा रहनुभएका हाम्रा शुभचिन्तकहरुले सहयोग गर्नुभएको थियो । अहिलेसम्म झण्डै १२ लाख  रुपैयाँ खर्च भएको छ  ।
अनि त्यसपछि ?

त्रिपालपछि चर्पी बनाउनतर्फ लाग्यौं र त्यो ठाउँ सिन्धुपाल्चोकको पिपलडाँडा हो । जहाँ मानवीय क्षति बढी भएको थियो । त्यो ठाउँमा चर्पीको आवश्यकता भएको हामीले महसुस ग¥यांै । वैशाख २८ गते गएर ६० घरका लागि १० वटा स्थायी चर्पी निर्माण गरेर फर्किएका थियौं । हामी त्यहाँ जाँदा पहिरो र भूकम्पका पराकम्प आइरहेका थिए । दुई चिरा परेको जमिनको एक चिरामा हामी १६ जनाको टोली बसेका थियौं । त्यसपछि हामी नुवाकोटको ओखरपौवामा ४० वटा स्थायी चर्पी र महाकाली निमाविका लागि अस्थायी कक्षा कोठा निर्माण गरियो । त्यो विद्यालय जेठ ११ गतेबाटै सञ्चालन गर्न सफल भयौं ।
अहिले हामी काभ्रेपलाञ्चोक  पाँचखाल नगरपालिकाको एकदमै लोपोन्मुुख पहरी जाती भएको बस्तीमा २० वटा भूकम्प प्रतिरोधी स्थायी घरहरु निर्माण भैरहेको छ । हामी दुई दम्पत्ति, भद्रगोल टिम, सगुन डट कमको टिम भएर ३ कोठाको भित्रै चर्पी भएको र एउटा धारो भएको स्थायी घर बनाएका छौं । हामी बसेको ठाउँमा बाघ लगायतका जंगली जनावरबाट भने एकदमै बच्नुपर्थ्यो ।

सँधैं हसाइरहने मान्छे त्यस्तो पीडादायी ठाउँमा पनि हँसाउनकै लागि पुग्नुभयो, अब कहिलेसम्म जारी रहन्छ यो सिलसिला ?

राहत पनि भयो, चर्पि पनि भयो, विद्यालय निर्माण पनि भयो । अब एकीकृत बस्ती निर्माणको अभियानमा छौं । भूकम्पपछिको नेपालकै पहिलो एकीकृत बस्ती हाम्रो पहलमा निर्माण भैरहेको छ, जसमा नेपाल आर्मीको ५० जनाको टोलीले पनि सहयोग गरिरहेको छ । सहयोग सँगसँगै धेरै अबरोधहरु पनि झेल्नुप¥यो । देश कुन अवस्थामा छ र देशलाई राजनीतिज्ञले कतातिर मोडिरहेका छन् त भन्ने कुरा पनि बुझ्ने अवसर पाइयो । हामीले जति नै केन्द्रमा बसेर विभिन्न निती बनाए पनि, बैठक बसे पनि देश त्यहाँबाट बनाउन गाउँबाट सुरु गर्नु पर्छ ।

छाप्रोको कथा बनाउन थाल्नु भएको त १० वर्ष भएको थियो, तर छाप्रोका ठ्याक्कै पीडा अहिले पो थाहा भयो होला है ?

हो धेरै पीडा थाहा भयो । हुन त म गाउँमै जन्मे हुर्केको मान्छे, तर म यति गहिराइसम्म जान पाएको थिइन । आफ्नै व्यक्तिगत कुराहरु थिए । अहिले समग्र गाउँका मान्छेहरुको प्रतिनिधित्व गरेर अगाडि बढिएको छौं । जस्तै अहिले २० वटा परिवारलाई घर बनाउँदा २० परिवारका २० थरीका मान्छे सबैलाई एकै ठाँउमा मिलाएर राख्न पक्कै पनि गाह्रो कुरा हो । हामीले उनीहरुलाई सक्ने तवरले एकै ठाउँमा राखेका छांै । सबैलाई सहयोग गर्न अपिल गर्दछौँ, राहत र पुनःनिर्माणको काम हामीले जुन बजेटबाट सुरु गरेका थियौं, त्यो भन्दा दोब्बर तेब्बर हुने भएकोले विभिन्न पाटोबाट सहयोग गर्न अनुरोध गर्न चाहान्छु । हिजोको दिनमा दर्शकहरुलाई हँसाएर हामीलाई प्रसाद स्वरुप एउटा घर निर्माण गर्न सहयोग गर्नुभएको थियो । आज उहाँहरु दुःखी हुँदा हाम्रो मन एकदमै दुःखी भएको छ । उहाँहरुलाई सहयोग गर्ने प्रतिबद्धताका साथ हामी घरहरु निर्माण गर्न लागिरहेका छौं र अर्को कुरा हाम्रो क्षमताले नभ्याउने भएकोले हामी दुई जनाले घर बेचेर यो प्रोजेक्ट पूरा गर्ने घोषणा गरेका छौं ।

भनेपछि धुर्मुस सुन्तलीले घर बेच्दैछन् पहरी बस्तीका लागि होइन त ?

पक्कै पनि, एकीकृत नमुना पहरी बस्ती । सरकारले एकीकृत नमुना बस्ती बसाल्ने भन्ने कुरा चलिरहेको र कार्यन्वयन नभैरहेको बेलामा सरकारलाई सघाउने अभियानका साथ दुईजनाले नेतृत्व गरेर यो अभियान सञ्चालन  गरेका छाैं । यो प्रोजेक्ट पूरा गर्नकै लागि हामीले  घर बेच्न लागेका हौं । हाम्रो घरमा भूकम्पले त्यस्तो क्षति केही पनि भएको छैन । कसैले घर किनिदिए भूकम्प पीडितलाई गरिएको सहयोग हो भन्ने सोच्ने छु मैले ।
उज्यालो अनलाइनबाट उज्यालो अनलाइनबाट