सरकारले भन्यो-स्वीस बैंकमा भएको रकम कसको हो थाहा छैन

३ फागुन, काठमाडौं । स्वीस बैंकमा नेपाली नागरिकले जम्मा गरेको भनिएको रकम कस्को हो भन्नेबारे सरकारले समेत अनभिज्ञता प्रकट गरेको छ ।
Swiss-Leaksविदेशमा रहेका नेपालीहरुले रकम जम्मा गर्न सक्ने भए पनि व्यक्ति को हो भन्ने थाहा नभएको गर्भनर युवराज खतिवडाले बताए ।
व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा गर्भनर खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको स्वीकृति विना कसैले पनि विदेशमा रकम जम्मा गर्न नपाउने बताए । उनले त्यसरी रकम जम्मा गर्न अनुमति पनि कसैले नलिएको जानकारी गराए ।
स्वीजरल्याण्डको एचएसबीसी बैंकमा ८ नेपालीको ५ करोड ४० लाख अमेरिकी डलर कालो धन भेटिएको सार्बजनिक भएपछि अर्थसमितिले त्यसबारे छलफल गर्न गभर्नर खतिवडा, अर्थसचिव सुमन शर्मा र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक केबल भण्डारीलाई बैठकमा बोलाएको थियो ।
yubaraj-khatiwada
युवराज खतिवडा
बैठकमा खतिवडाले भने, ‘जस्को नाममा रकम भेटियो भनिएको छ, तिनीहरुलाई रकम राख्न राष्ट्र बैंकले स्वीकृति दिइएको छैन ।’
उनले बैदेशिक रोजगारमा गएका र त्यही व्यवसाय गरेर बसेकाले खाता खोल्न सक्ने बताए । तर, स्वदेश फर्केको ३५ दिन भित्र नेपालमै खाता खोलेर विदेशी मुद्रामै रकम राख्नुपर्नेछ । व्यवसायीहरुले राष्ट्र बैंकको स्वीकृति विना विदेशमा खाता खोल्न नसक्ने गभर्नर खतिवडाले स्पष्ट पारे ।
उनले अवैध रुपमा रकम राख्नेहरुको संख्या र रकम अहिले सार्बजनिक भएको भन्दा पनि अझै धेरै हुनसक्ने बताए ।
फिर्ता ल्याउन सम्भव छ ?
स्वीस बैंक रकम राख्नका लागि सुरक्षित मानिन्छ । त्यहाँ कालो धन बार्षिक ८ सय ५० करोड अमेरिकी डलर जम्मा हुने गरेको अनुमान छ ।
नेपाली नागरिकले जम्मा गरेको अवैध कालोधन फिर्ता ल्याउन र विकास निर्माणमा लगानी गर्न सरकारलाई सुझाव दिनेहरु धेरै छन् । तर के यो सम्भव छ त ?
kebal-bhandari
केबल भण्डारी
सम्पति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक केबल भण्डारी भन्छन्-‘तत्काल रकम फिर्ता ल्याउन असम्भव छ । किनकी नेपालमा त्यस सम्वन्धि कानून नै बनेको छैन ।’
कानून बनाएर अदालतले अवैध प्रमाणित नगरेसम्म स्वीस बैंकको कालोधन फिर्ता ल्याउन नसकिने भण्डारीले बताए । उनले सूचना आदान प्रदानकालगायतका कानून निर्माणको पहल गर्न सुझाव समेत दिए ।
उनले भने-‘नेपालमा कानून नबनिसकेकोले सामान्य प्रक्रियाले रकम फिर्ता ल्याउन सम्भव छैन, सरकारले सूचना माग्न पहल गरे पनि विस्तृत विवरण नै पाइँदैन ।’
यद्यपी विभागले स्वीस बैंकमा रकम जम्मा गरेकाहरुबारे पत्ता लगाउन त्यहाँस्थित दूतावाससँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको महानिर्देशक भण्डारीले जानकारी दिए ।
उनका अनुसार स्वीजरल्याण्डको एच एस बीसी बैंकको एउटा शाखामा भएको डिपोजिटको एउटा केशमात्रै अहिले बाहिर आएको हो । यस्ता करिब ३३५ खाता छन् । जसले नाम नखुलाई कोडको आधारमा रकम राख्ने गर्दछन् । यो संख्या अझै धेरै हुनसक्ने उनले अनुमान गरे ।
यो रकम राजनीतिक दलका उच्च नेताहरुको भएको हुनसक्ने भनेर बेला बेला चर्चामा आउने गर्दछ । तर प्रमाणित हुन सकेको छैन । महानिर्देशक भण्डारीले भने, ‘नेपालमा राजनीतिक परिवर्तन सँगै बेलाबेलामा स्वीस बैंकमा भएको कालोधन जोडिएर आउने गर्छ, तर, यसलाई रोक्ने कानून बनाउन चासो दिइँदैन ।’