बसमा यात्रा गरिरहेका तेह्र यात्रुको हत्या

फोटो :एजेन्सी
काबुल: दक्षिणी अफगानिस्तानमा मङ्गलबार बन्दुकधारीहरुको एक समूहले अन्धाधुन्ध गोली हानी बसमा यात्रा गरिरहेका कम्तीमा पनि १३ जना यात्रुको हत्या गरेको छ ।  
दक्षिणी अफगानिस्तानको वार्दाक प्रान्तमा बसमा यात्रा गरिरहेका सर्वसाधारणलाई बन्दुधकारीको एक समूहले गोली प्रहार गरी हत्या गरेको जनाइएको छ । अधिकारीहरुले अफगानिस्तानमा सर्वसाधारणमाथि हुने गरेको आक्रमणको पछिल्लो शृंखलाका रुपमा यी सर्वसाधारण मारिएका जनाएका छन् । 
प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारी अनुसार बन्दुकधारीको एक समूहले मङ्गलबार बिहान बसमा हमला गरी त्यसमा रहेका यात्रुमध्ये कम्तीमा पनि १३ जनाको ज्यान लिएका हुन् । 
उक्त बस दक्षिणी सहर कान्दाहारतर्फ जादै गरेको थियो । सोही समयमा गुडिरहेको बसलाई अकस्मात रोकी बन्दुकधारीले सो हमला गरेका थिए ।  बन्दुधकारीले एकाएक बसलाई नियन्त्रणमा लिई सो हमला गरेका थिए । उनीहरुले छानीछानी ती यात्रुमाथि गोली बर्साएको समाचारमा जनाइएको छ । 
कान्दाहार प्रान्तको छिमेकी प्रान्त घाज्नीका उपगभर्नर मोहम्मद अलिले बन्दुकधारीले उक्त बसमा रहेका यात्रुलाई छानेर मारेको जानकारी दिएका छन् ।  अधिकारीहरुले उक्त सवारीमा मारिएका नागरिकको पहिचान हुन नसकेको बताएका छन् । सो आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा पनि केही थाहा हुन नसकेको पनि अधिकारीको भनाई छ । 
साथै त्यस हत्याको जिम्मेवारी पनि कसैले लिएको छैन । प्राय यस्ता अपराधका घटनामा अफगानी तालिवानहरुको हात रहने भएकोले प्रहरीले उनीहरुकै हात रहेको अनुमान गरेको छ । 

तर तालिवानहरुले भने त्यस बारेमा केही बताएका छैनन् । उनीहरुको कुनै प्रतिक्रिया आएको छैन । नागरिकहरुमाथि यस्तो हमला प्राय त्यहाँ जातीय द्वन्द्वका कारण हुने गर्दछ । जातीय द्वन्द्वका कारण एकले अर्को जातीमाथि हमला गरी हत्या गर्ने गर्छन् ।