कस्तो बिर्सिएको ?..कथा :

सुरज ६ वर्ष पूरा भएर सात वर्षमा हिँडिरहेका छन्। अप्रिल २१ मा उनको जन्मदिन पर्छ। त्यसैले उनी सबैलाई भन्दै हिँड्छन्, 'थाहा छ, मेरो बर्थ डे आउन लाग्यो नि। अर्को महिना हो। तिमी मेरो घरमा केक खान आऊ है।'
 
यो उनको छैटौं जन्मदिन थियो। उनले आफ्ना बाबा मामुसँग चेस उपहार मागेका थिए। त्यो पनि चुम्बकले टाँसिने चेस। उनका बाबा मामुले टल्कने कागजमा बेरी फूल टाँसेर उनलाई मन पर्ने उपहार दिएक थिए। उनी आफूले चाहेको उपहार पाएर निकै खुसी भएका थिए।

सुरजलाई चेस खेल्न अति मन पर्छ। आफ्ना हजुरबुवा चेस खेलिरहको देखेर पनि हुनसक्छ, चेस खेलप्रति उनको रुचि बढेको। तर उनी आफूभन्दा खेल्न जान्नेसँग खेल्न त्यति मन पराउँदैनन्। 
 
घरमा आएका पाहुनालाई सबैभन्दा पहिले उनले सोध्ने प्रश्न हो, 'हजुरलाई चेस खेल्न आउँछ?' जब खेल्न आउँछ भन्ने जवाफ आउँछ, उनी चेस राखेको झोला लिन दगुर्छन् र लिएर आई खेल्न तयार हुन्छन्। 
 
सुरजले चेसका गोटीहरू हात्ती, घोडा, उँट, राजा, रानी, सैनिक सबै चिन्छन्। तर, ती गोटीको चालका लागि भने कहिलेकाहीँ सुरजको आफ्नै नियम हुन्छ।
 
शनिबारको दिन थियो। सुरज आफ्न बाबा मामुको साथ बाबाको साथीको घरमा गएका थिए। अचानक हिउँ परेको हुँदा उनीहरू त्यो रात त्यहीँ बस्नुपर्ने भयो। 

बाबा, मामु र उहाँका साथीहरू ढिलासम्म कुरा गरी बसेका हुँदा बिहान निकै उज्यालो हुँदासम्म निदाइरहनुभएको थियो। सुरज भने सधैंको समयमा सुतेको हुँदा उनको एकाबिहानै निद्रा खुल्यो। उनी उठेपछि सिरानीनजिकै रहेको बाबाको फोनमा खेले तर केही बेरमा फोनको चार्ज सकियो। 
 
सुरजलाई मामुको फोनको पासवर्ड थाहा थिएन। के गर्ने होला भनी सोचिरहेको समयमा उनको आँखा चेस बोर्डमा प:यो। उनले चेस निकाले र सबै गोटी मिलाएर केही बेर एक्लै खेले।
 
खेल्दाखेल्दै उनले तल्लो तलामा भाँडा बजेको सुने। अब भने घरमा कोही उठेको हुनुपर्छ भन्ने लागेर विस्तारै माथिबाट तल्लो तलामा हेरे। बाबाको साथी त रातिको जुठो भाँडा माझिरहनुभएको रहेछ।

उनी आश्चर्य मानेर हतारहतार नजिक गएर सोधे, 'अंकल हजुरले यो के गर्नुभएको?' 'भाँडा सफा गरेको बाबु', अंकलले भन्नुभयो।
 
'आन्टी खोइ त, उठ्नुभएको छैन?', उनले पुन: सोधे। हस्पिटल, काममा गएकी छन् भनेर अंकलले भनेपछि सुरजले पुन: सोधे, 'हजुर ब्वाइ (केटामान्छे)ले पनि गर्ल (केटीमान्छे)ले झैं भाडा माझ्नुहुन्छ त?'
 
'किन हुन्न त? ब्वाइले पनि गर्लझैं खान हुने अनि भाँडा माझ्न नहुने?', अंकलले भन्नुभयो। 'त्यो त हो', केही बेर सोचेर अंकलको कुरामा उनले सहमति जनाए अनि केही सम्झिएझैं गरेर भने, 'अंकल चेस खेल्न आउँछ हजुरलाई?'
 
'आउँदैन नि बाबु', अंकलले यसै भनिदिनुभयो। 'म सिकाइदिऊँ?', उत्साहित भए सुरज। 'हुन्छ', अंकलले टाउको हल्लाउँदै भन्नुभयो।
 
सुरज दगुरेर माथि गई चेस बोर्ड र गोटी लिएर आए। खेल्नका लागि उनले सबै मिलाए। त्यतिन्जेल अंकलले रातिको केही बाँकी भाडा सफा गरिसक्नुभएको थियो।
 
खेल सुरु भयो। अंकलले जानीजानी सुरजलाई आफ्नो हात्ती घोडाका गोटी खान दिनुहुन्थ्यो। 'अंकल सुसाइड गेम नखेल्नु न', आफूलाई अंकलले जिताउन खोजेको भन्ने लागेर उनलाई मन पर्दैनथ्यो। 
 
फेरि उनले भने, 'हजुरलाई खेल्न आउने रैछ हो? त्यसै आउन्न भन्नुभाको थियो हो?' अंकल मुसुक्क हाँस्नुमात्र भयो।
 
केही समयपछि सुरजले अंकलको किङ खाइदिए। 'अंकल हजुरको क्विनलाई चेक है', खुसी हुँदै सुरजले भने। 'तिमीले किङ खान मिल्दैन बाबु। खेलको अन्तिमसम्म किङ हुन्छ। क्विनलाई होइन किङलाई दिने हो नि चेक पनि', सुरजलाई नियम सिकाउन र बुझाउन खोज्नुभयो अंकलले।
 
'किङ जुन बेला पनि खान सकिन्छ। क्विन अन्तिमसम्म हुन्छ। क्विनलाई नै हो चेक दिने हजुरलाई खेल्न आउने रैनछ अंकल', सुरजले जिद्दी गर्दै भने। 'होइन बाबु किङ अन्तिमसम्म हुन्छ। किङ सबैभन्दा महत्त्वपूर्ण हुन्छ नि त बाबु', सुरजको टाउकोमा मायालु हातले मुसार्दै अंकलले भन्नुभयो।
 
सुरजले केही सोचेर भन्यो, 'यु आर राइट अंकल। हो त किङ भनेको ब्वाइ हो। क्विन भनेको गर्ल। गर्लभन्दा ब्वाइ नै शक्तिशाली हुन्छ भन्ने कस्तो बिर्सिएको मैले।'
 
सुरजको कुरा सुनेर अंकलले भन्नुभयो, 'चेसमा क्विन पनि शक्तिशाली हुन्छ नि बाबु। छड्के, सीधा, दायाँ, बायाँ, अगाडि, पछाडि जतासुकै पनि जान सक्छ। अनि नि बाबु गर्लभन्दा ब्वाइ शक्तिशाली हुन्छ भन्नु गलत हो। 
 
ब्वाइले गर्नसक्ने हरेक काम गर्लले पनि गरेका छन्। भन, गर्लले प्लेन उडाएका छैनन्? गर्ल वैज्ञानिक छैनन्? शिक्षक छैनन्। यो चेस पनि गर्ल ब्वाइ सबैले खेल्न सक्छन्। 
 
यहीँ हेर तिम्री आन्टी डाक्टर हुन्। तिम्री मामु इन्जिनियर हुन्। म पनि इन्जिनियर। के फरक छ हामीमा। समान छैन त?' केही बेर घोरिएर अर्कोपटक पनि सुरजले आफ्नो टाउकोमा हात राख्दै भने, 'हो त है, मैले कस्तो बिर्सिएको !'
 
केही बेरपछि उनले फेरि भने, 'म सात वर्ष पूरा भएर आठ भएपछि भने केही पनि बिर्सिन्न अंकल। मेरो बर्थ डेमा आउनू है। अप्रिल २१ मा हो।'
- See more at: http://annapurnapost.com/News.aspx/story/9078#sthash.AZITb5Km.dpuf