दिपराज गिरीको हनिमुन: शुभरात्री भनेर बिताइयो

आजभन्दा २८ वर्षअघि मेरो मागी विवाह भएको हो। घर भएको ठाउँ दहचोक त्यो बेला त गाउँ नै थियो, अहिले सहर भइसक्यो। हाम्रो विवाह गाउँमा भएको हो। एउटै गाउँमा हुर्किएकाले पहिलेदेखि चिनजान थियो। 
 
उनको बुवालाई म काका भन्थेँ। तर, विवाह हुनुअघि र विवाहपछिको अवस्था छुट्टै भयो। विवाह हुँदा म १७ वर्षको थिएँ, उनी १५। 
 
विवाहपछि हनिमुन कहाँ र कसरी मनाउनेभन्दा पनि उमेर परिपक्व नभएकाले दुलहीसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने तनाव बिहेको दुईतीन दिन अघिदेखि सुरु भएको थियो। धेरै सक्रिय हुँदा पनि केटो कस्तो रहेछ भन्ने श्रीमतीले सोच्लिन् भन्ने डर थियो। 
 
उनलाई पनि सायद त्यस्तै भयो होला। नयाँ घर, नयाँ परिवेश र नयाँ मान्छेसँग उनी पनि त्रसित थिइन् होला। दुवैजनाको दिमागमा त्यस्तै घुमिरहेकाले सुहागरात पनि भद्र जोडीका रूपमा शुभरात्रि भनेर बिताइयो।
विवाह हुँदा म १७ वर्षको थिएँ, उनी १५। विवाहपछि हनिमुन कहाँ र कसरी मनाउनेभन्दा पनि उमेर परिपक्व नभएकाले दुलहीसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने तनाव बिहेको दुईतीन दिन अघिदेखि सुरु भएको थियो।
त्यस बेला शारीरिक रूपमा बढी जोशिलो भइयो होला, अहिले मानसिक रूपमा परिपक्व भइएको छ। तैपनि त्यो समय जीवनको महत्त्वपूर्ण क्षण थियो। हनिमुनका रूपमा कतै भ्रमण नगए पनि लामो जीवनको आधारस्तम्भ थियो। 
 
माया र प्रेमलाई बलियो र गाढा बनाउने समय थियो। विवाहका बेला गाउँघरमै नाटक खेल्थेँ। गाउँको हिरो थिएँ। पञ्चायतविरोधी नाटकमा अभिनय गर्थें। विवाहपछि म राष्ट्रियस्तरको कलाकारितामा लागेँ र सफल पनि भएँ।
 
विवाहलगत्तै हनिमुन मनाउने समय भएन। मलाई लाग्छ, प्रेम भए प्रत्येक दिन हनिमुन हुन्छ। अहिले पनि हामी हनिमुन मनाइरहेका छौं। अहिले त छोराछोरी पनि ठूला भए। कलाकारका श्रीमती साह्रै दु:खी हुन्छन्जस्तो लाग्छ। 
 
चौबीसै घन्टा जुनसुकै समयमा ड्युटी गर्नुपर्ने भएकाले परिवारलाई समय दिन पाइँदो रहेनछ। छोराछोरी नै 'आमालाई लिएर घुम्न जानू' भन्छन्। 
 
धेरैजसो बाहिरफेर घुम्न जाँदा कलाकारको समूहमा जाने भएकाले परिवार लिएर जान मिल्दैन। तर पनि समय मिलाएर घुम्न जान्छौं। केही दिनअघि मात्र पूर्वी नेपालको इलाम, पाँचथर घुम्न गयौं। त्योभन्दा अघि हङकङ गएका थियौं।
 
अहिले 'हनिमुन' नाम राखिदिएर विवाहपछिको त्यो समयलाई अप्ठ्यारो बनाइदिएको छ। अरूको देखासिखी गर्नलाई हनिमुन जानैपर्ने अवस्था सिर्जना भएको छ। त्यस्तो प्रवृत्तिले कतिपय मानिसलाई अनावश्यक दबाब दिएको छ। माया भए सधैं मधुमास।