गर्भ रोक्ने चक्कीको बिक्री बढ्यो
बनपास्थित चण्डेश्वरी मेडिकल हलका असिन वैद्यले भने, 'भूकम्पअघिको तुलनामा अहिले आकस्मिक गर्भ रोक्न चक्की (औषधि) को प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। परिवार नियोजनका अन्य साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको छ।'
उनका अनुसार चक्की किन्न पसलमा दैनिक १५ देखि २० जना आउने गरेका छन्। 'अधिकांश एक साताको ग्याप राखेर दोहो:याएर आउने गरेका छन्,''उनले भने, 'औषधि लिन २० देखि २५ वर्ष उमेर समूहका महिला बढी आउने गरेका छन्।'
स्वास्थ्यकर्मीका अनुसार विशेषगरी उच्चमावि तथा क्याम्पसमा पढ्ने उमेर समूहका युवतीलेअसुरक्षित शारीरिक सम्बन्धबाट रहेको गर्भ हटाउन गर्भनिरोधक चक्की प्रयोग गर्ने गरेका छन्। गर्भनिरोधक आकस्मिक चक्की पानपसलदेखि होटेलसम्म पाइने भएकाले यसको प्रयोग सहज भएको औषधि पसले बताउँछन्।
धुलिखेल, पनौती, बनेपा र पाचँखालका बजारमा यस्तो औषधि बढी बिक्री हुने गरेको छ। गर्भ रोक्न इकोन, आइपिल, अनवान्टेड, ई ७२ म्याक्स, एमटीपी प्रिग्नो एमटिपिल्सलगायत चक्कीको प्रयोग बढेको छ। बजारमा गर्भनिरोधक चक्की ८० देखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
कन्डम र अन्य गर्भनिरोधक साधन प्रयोग गर्न झन्झट र असहज हुने भएकाले गर्भनिरोधक चक्कीको प्रयोग बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्।
जिल्ला जनस्वाथ्य कार्यालय काभ्रेका प्रमुख डा. राजेन्द्र शाहले भने, 'गर्भपतन गर्न कानुनले छुट दिएको छ तर भूकम्पका कारण घर भत्किएर त्रिपालमा बस्नुपर्दा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न असहज भएका कारण त्यस्तो अवस्थामा रहेको गर्भ हटाउन औषधि प्रयोग गरेका हुन सक्छन्।'
उनले असुरक्षित यौनसम्पर्कबाट रहेको गर्भ रोक्न चक्कीको बढी प्रयोग हुने गरेको बताए।
सरकारले २०६० चैत ५ गतेदेखि गर्भपतनलाई कानुनी मान्यता दिएसँगै गर्भनिरोधक औषधिको अव्यवस्थित बिक्रीवितरण र प्रयोगले स्वास्थ्यमा खतरा बढ्दै गएको छ।
'असुरक्षित रूपमा चक्कीको धेरै प्रयोग गर्दा बाँझोपन, पाठेघरको क्यान्सर, रक्तस्राव भएर मृत्यु हुने र यौनरोगको उच्च सम्भावना रहन्छ', ओम सत्यसाही अस्पताल बनेपाकी डा. रञ्जु बराल भन्छिन्, 'डर, लाज र अप्ठ्यारा सामाजिक मान्यताले परिवार नियोजनका अन्य साधनको सट्टा आकस्मिक गर्भनिरोधक चक्की सजिलो हुने भएकाले यसको प्रयोग बढेको हो।'
उनका अनुसार १८ वर्षदेखि ३० वर्ष उमेर समूहका महिलाले बढीमात्रामा आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्छन्।
औषधि प्रयोग गर्नेमा शिक्षित समुदाय बढी रहेको धुलिखेलका एक मेडिकल सञ्चालकले बताए। उनले भने, 'धेरैपटक सेवन गरे स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुने वर्गले पनि दिन बिराएर यो औषधि लैजाने गरेका छन्।
भूकम्प जानुअघि दैनिक ५० देखि सयसम्म बिक्री हुने गरेको गर्भनिरोधक चक्की भूकम्प पछि दैनिक दुई सयको हाराहारीमा बिक्री हुने गरेको छ।'
कन्डम छाडेर विभिन्न प्रकारका चक्कीको प्रयोग बढेपछि जिल्लामा पछिल्लो समय एचआईभी संक्रमितसमेत बढ्दै भएको सक्रिय प्लस नेपाल काभ्रेका कोषाअध्यक्ष कमल बञ्जराले बताए।
उनले जिल्लामा एक सय ९२ जना पुरुष, एक सय दुईजना महिला र १६ जना बालबालिका एचआईभी/एड्स संक्रमित भएको जानकारी दिए।